भरतपुर, २ कात्तिक ।
नेपाली काँग्रेस चितवनका पूर्वउपसभापति तथा समाजसेवी स्वर्गीय नेता मेदानीराज थापाको ९ औं दिनको पुण्य तिथिमा बिहिबार शोकसभा गरिएको छ ।
नेपाली काँग्रेस जिल्ला कार्यसमितिको आयोजनामा भरतपुर महानगरपालिका- १५, फूलबारीमा शोक सभा सम्पन्न गरिएको हो । शोक सभामा बोल्दै नेपाली काँग्रेस जिल्ला सभापति राजेश्वर खनालले स्वर्गीय नेता थापाको असामयिक निधनले पार्टीलाई अपुरणीय क्षति पुगेको बताए । `कर्तव्य निष्ठ, मेहनती, शाालिन, भद्र, सामाजिक अभियन्ता स्वर्गीय नेता थापाको निधनले पार्टी स्तव्ध भएको छ´, खनालले भने- `स्वर्गीय मेदानीराज थापाले अंगालेका राम्रा कार्यको पार्टीले सदैव मूल्यांकन गर्नेछ ।’
थापाले निष्ठाको राजनीति गरेको स्मरण गर्दै खनालले भने- `सामाजिक एवं राजनैतिक व्यक्तित्व स्वर्गीय थापाको निष्ठा, सरलता, क्षमता र त्यागलाई नेपाली काङ्ग्रेस चितवनले सदैव सम्मान गर्नेछ ।’
स्वर्गीय नेता मेदानीराज थापा भरतपुरमा किसानका नेताको रुपमा पनि परिचित थिए ।
प्रजातान्त्रिक आन्दोलनका एक योद्धा तथा सामाजिक अभियान्ता स्वर्गीय नेता थापाले गाउँ, समाज र जिल्ला चिनाउनका लागि ठूलो भूमिका खेलेका थिए ।
शोक सभामा नेपाली काँग्रेसका केन्द्रीय सदस्यद्वय प्रदीप पौडेल र टेकप्रसाद गुरुङ, पार्टी सभापति राजेश्वर खनाल, उप-सभापतिद्वय राजिव न्यौपौने र शालिकराम पौडेल, सचिव ध्रुवराज पोखरेल, सहसचिवद्वय दिनेश अधिकारी र गोपाल दराई, सदस्य हिरामणि अधिकारी, निवर्तमान पार्टी सभापति जीतनारायण श्रेष्ठ, पूर्वसभापतिद्वय कृष्णलाल सापकोटा र शेषनाथ अधिकारी, प्रदेश स्वास्थ्यमन्त्री उत्तम जोशी लगायत क्षेत्र नम्बर-३ र वडा नम्बर १५ का पार्टी सदस्यहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।