भरतपुर, २६ असोज ।
भरतपुर महानगरपालिकाको कार्यपालिका बैठक स्थगित भएको छ । उपमेयरसहित नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधि र कार्यपालिका सदस्यहरुले बैठक बहिस्कार गरेपछि बैठक स्थगित भएको हो ।
नारायणी नदी किनारको नगर वन नजिकै रहेको बालकुमारी नर्सिङ कलेजमा महानगरले तालाबन्दी गरेर आफ्नो अधिनमा लिन खोजेपछि विवाद उत्पन्न भएको थियो । तीन महिना अगाडिबाट उत्पन्न विवादमा बारम्बारको छलफलपछि एकमहिना अगाडि कार्यपालिकाको बैठकमा सोही बिषयमा छलफल हुँदा कजेल सञ्चालन गर्ने बहुमतको निर्णय भएको थियो । तर मेयर रेनु दाहालले पारदर्शिता र सहमति विपरित आफ्नो मनोमानीले कलेजको ताला खोल्न आनाकानी गरेपछि काँग्रेसका जनप्रतिनिधिले बैठक बहिस्कार गरेका हुन् । उनीहरुले अविलम्ब कलेज सञ्चालन हुनुपर्ने माग राख्दै आएका छन् ।
महानगरका उपप्रमुख चित्रसेन अधिकारीका अनुसार विवाद त्यति मात्र नभएको बुझिएको छ । भरतपुर भ्रमण वर्ष- २०२४ को बोर्डमा मेयरले आफ्नो मात्र तस्वीर राखेको कुरामा पनि काँग्रेसको असहमति छ । उनले भने- ‘कार्यपालिकाको बैठकमा एउटा निर्णय हुन्छ, अनि महानगरमा मेयर, हाकिम र नगर प्रहरीकोको मिलेमतोमा मनोमानी ढङ्गले काम अगाडि बढ्छ, यसमा कसरी मुकदर्शक भएर सहमति जनाउन सकिन्छ ?’
त्यसैगरी भरतपुर महानगरपालिका वडा नम्बर- २४ को नेपाली काँग्रेसको वडा कमिटी नै नेकपा माओवादी केन्द्र प्रवेश गरेपछि कांग्रेस चितवन माओवादीसँग अझै रुष्ट बनेको छ । मेयर रेनु दाहालले वडा सभापति इन्द्रबहादुर लामाको नेतृत्वमा क्षेत्रीय प्रतिनिधि लालबहादुर विक, जनप्रतिनिधि सुनिल अर्नेल, कार्यसमिति सचिव रामेश्वर चौधरी, क्षेत्रीय प्रतिनिधि तुलबहादुर मगर, पमबहादुर विक, श्यामबहादुर मोक्तानसहित ४७ जनालाई केही दिन अगाडि माओवादी केन्द्रमा स्वागत गरेकी थिइन् ।
भरतपुर वडा नम्बर- १० का वडाध्यक्ष परमेश्वर खनालले महानगरको बजेट मेयरले आफ्नो मनोमानीले खर्च गरिरहेको समेत आरोप लगाए । उनले महानगरको कुनै पनि काममा पारदर्शिता नभएको बताए । महानगरमा मेयरले सनकको भरमा १२२ जना कर्मचारी नियुक्त गरेको तर त्यसको जानकारी मेयरले कार्यपालिकालाई नगराएको समेत बताए । खनालका अनुसार मेयर निकट कर्मचारीहरु ७-८ वर्षसम्म पनि सरुवा नगरी मेयरले आफ्नो संरक्षणमा राखेको बताए ।
तर नेकपा माओवादीका जिल्ला संयोजक रामचन्द्र अधिकारीसँग बुझ्दा बालकुमारी कलजेको जग्गा आजभन्दा २२ वर्ष अगाडि मुक्तिलाल चुके मेयर हुँदा लायन्स क्लबलाई दिएको, पछि लायन्स क्लबले आफ्नो स्वामित्वमा ल्याइसकेपछि महानगरलाई जानकारी नगराई बालकुमारी कलेजलाई दिएको जिकिर गरे । महानगरको स्वामित्वमा रहेको सार्वजनिक जग्गा लायन्सले प्रयोग नगरी बालकुमारी कलेजलाई दिएपछि सो सार्वजनिक जग्गा महानगरले नै पाउनुपर्ने भन्दै उनले मेयरको बचाउ गरे ।
महानगरको शुक्रबार स्थगित भएको कार्यपालिका बैठक आगामी कात्तिक २ गते बिहान ८ बजेको लागि बोलाइएको छ ।