भरतपुर, २२ असोज ।
रोयल राइनो राइडर्स क्लब चितवनले क्लबमा नयाँ सदस्यहरूलाई स्वागत गरेको छ । क्लबको वार्षिकोत्सवको अवसर पारेर १२ जना नयाँ सदस्यहरूलाई क्लबमा स्वागत गरिएको हो । बागमती प्रदेशका सांसद गिरबहादुर तामाङ (ज्ञानुजङ्ग लामा)को प्रमुख आतिथ्यमा नयाँ सदस्यहरूलाई क्लबमा प्रवेश गराइएको हो । क्लबमा नवप्रवेशीहरूलाई क्लबको ज्याकेटसमेत प्रदान गरिएको थियो ।
क्लबका अध्यक्ष प्रितम श्रेष्ठका अनुसार क्लबको चिनारी दिलाउनको लागि हरेक सदस्यलाई ज्याकेट प्रदान गर्दै आएको छ । ‘यसपटक हामीले १२ जना सदस्यलाई ज्याकेटसहित स्वागत गर्न सफल भयौँ,’ उनले भने, ‘सुरूसुरूमा रोयल इन्फिल्ठ भनेपछि घर परिवारबाटै साथ सहयोग थिएन । तर, अहिले परिवारले पनि राम्रोसँग बुझ्दै गएको छ ।’
समाजमा काम गर्दै जाँदा सकारात्मक प्रभाव परेपछि बल्ल परिवारबाट पनि साथ सहयोग मिल्दै गएको उनको भनाइ छ । क्लबले घुमफिरसँगै सामाजिक कामलाई प्राथमिकतामा राख्दै आएको छ ।
कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका सांसद तामाङले आगामी दिनमा सामाजिक काममा पनि जनचेतनामुलक कार्यक्रमलाई प्राथमिकतामा राख्न सुझाव दिए । लागूपदार्थ दुर्व्यसनी विरूद्ध सचेतना कार्यक्रम गर्नु अति नै आवश्यक भइसकेको उनले बताए । ‘त्यसबाहेक वातवारण संरक्षणजस्ता कामलाई पनि क्लबको वार्षिक योजनामा पारेर अगाडि बढ्न मेरो सुझाव छ,’ उनले भने ।
कार्यक्रममा नाचगानमार्फत मनोरञ्जनसमेत सञ्चालन भएको थियो । क्लबमार्फत यसअघिका दिनमा वृक्षरोपण, रक्तदान, सरसफाइ, सचेतनामुलक र्यालीलगायतका कार्यक्रम आयोजना गर्दै आइरहेको छ । भरतपुर महानगरपालिकाले आयोजना गरेको भ्रमण वर्ष–२०२४ लाई पनि क्लबले विशेष भूमिका खेल्न सक्ने क्लबका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।