मकवानपुर, २१ असोज ।
मकवानपुर प्रहरीले चाडपर्व लक्षित सुरक्षा याेजना सार्वजनिक गरेकाे छ । नजिकिँदै गरेको चाडपर्वहरुमा हुन सक्ने विभिन्न घटनाहरु न्यूनिकरणका लागि मकवानपुर प्रहरीले योजना तयार गरेको हाे ।
चाडपर्व लक्षित सुरक्षा योजना अन्तर्गत ८ सय १७ जना प्रहरीलाई खटाउन लागिएको छ जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ । आइतबार पत्रकार भेटघाटमा मकवानपुर प्रहरी प्रमुख एसपी सीताराम रिजालले केही योजनाहरु आजैदेखि कार्यान्वयन भैसकेको जानकारी दिए ।
मकवानपुर प्रहरीले हेटौंडा १४ रातोमाटेमा एम्बुलेन्ससहितको यात्रु हेल्प डेस्कको स्थापना गरेको जनाएको छ । त्यस्तै हेटौंडा ११ थानाभर्याङमा चालक निगरानीको लागि अस्थायी रिफ्रेससेन्टरको स्थापना गरेको प्रहरीले जनाएको छ । चाडपर्वको समयमा कुनैपनि यात्रु नठगिउन भन्ने उदेश्यले सुमो काउन्टर क्षेत्रमा प्रहरीले यात्रु सहायता कक्षको स्थापना गरेको जनाएको छ । साथै, आरक्षण सीटको स्टीकर मेटिएका सार्वजनिक यातायातमा स्टीकर टाँस्ने काम समेत सुरु गरिएको रिजालले बताए ।
चाडपर्वलक्षित सचेतनाका लागि तयार पारिएका जिङ्गलहरु बजार चोकमा मात्र नभई जिल्लाभरिका विद्यालयहरुमा विहानको राष्ट्र गानपछि बजाएर विद्यार्थीहरुलाई जानकारी गराउने व्यवस्था मिलाएको उनले बताए । प्रहरीहरु सुरक्षा नाका,अस्पतालका बिरामी रेफर,लामो दूरी सवारी चेकजाच, यात्रु सहायक कक्षजस्ता सुरक्षाकार्यमा प्रहरी खटाईएको उनले बताए ।