खैरहनी, २१ असोज ।
खैरहनी नगरपालिकाले पर्सा बजारका विभिन्न खाद्य पसल तथा स्टोरहरूको अनुगमन गरेको छ । चाडपर्व नजिकिँदै आएको सन्दर्भमा खैरहनी नगरपालिकाले पर्सा बजार क्षेत्रभित्र रहेका विभिन्न पसल तथा व्यवसायको अनुगमन गरेको हो ।
पर्साको मुख्य बजारक्षेत्रभित्र रहेका १४ वटा किराना पसल र डिपार्टमेन्टल स्टोरमा खाद्य सामग्रीको अनुमगन गरिएको खैरहनी नगरपालिका उपमेयर कविता उप्रेतीले बताइन् । अनुगमनका क्रममा व्यवसाय दर्ता नवीकरण, मूल्यसूची, नापतौल, खाद्यवस्तु उत्पादनको मिति, म्याद समाप्त मिति, खरिद बिल र बिक्रि विलको निरीक्षण गरिएको र अनुगमनको सिलसिला जारी रहने नगरप्रमुख शशिकुमार खनियाले बताए ।
अनुगमनको क्रममा विभिन्न पसलमा म्याद नाघेका चिप्स, तेल, जुसलगायतका सामग्रीहरु फेला परेका थिए । फेला परेका म्याद नाघेका खाद्य सामग्रीहरु जफत गरी नष्ट गरिएको छ । अनुगमनको क्रममा देखिएका कमजोरी तत्काल सुधार गर्न निर्देशन दिइएको नगरपालिकाले जनाएको छ ।
खैरहनी नगरपालिकाका नगर प्रमुख शशिकुमार खनियाले चाडपर्वको मुखमा मात्रै नभएर उपभोक्ताको हितसँग जोडिएका सबै क्षेत्रमा अनुगमनको सिलसिला निरन्तर रहने बताए । नगर उपप्रमुख कविता उप्रेतीको संयोजकत्वमा भएको बजार अनुगमनमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद सापकोटा, वडाध्यक्ष सहितको जनप्रतिनिधि, उद्योग वाणिज्य संघका प्रतिनिधि, नेपाल प्रहरी र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय चितवनका प्रतिनिधिको सहभागिता थियो ।