भरतपुर, २० असोज ।
विज्ञान शिक्षक समाज मकवानपुरको आयोजना र नवोदय शिशु सदनको सहकार्यमा असोज २० गते शनिबार जिल्लास्तरीय वक्तृत्वकला कार्यक्रम तथा विज्ञान कार्यशाला सम्पन्न भएको छ । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको प्रमुख आतिथ्यता तथा राष्ट्रिय परीक्षा बोर्ड मकवानपुर शाखाका प्रमुख कृष्ण घिमिरेको विशिष्ट आतिथ्यतामा नवोदय शिशु सदनको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो ।
मकवानपुर जिल्लाका आठ पालिकाका बाइस सहभागीले भाग लिएको वक्तृत्वकलामा साहित्यकारहरू शान्ति प्रियवन्दना , देवराज तिवारी तथा रसायन विज्ञान प्रशिक्षक चिरञ्जीवी लामिछानेको संयुक्त निर्णयबाट जिएस निकेतनका आदर्श पौडेल प्रथम, सोही विद्यालयकी प्रतिष्ठा कार्की दोस्रो ,चण्डीका मावि शिखरकटेरीकी तेजकुमारी बास्कोटा तृतीय र नवोदय शिशु सदनकी विदुषी हुमागाईँ तथा बालजागृति इङ्ग्लिस स्कुलकी रितिका छत्कुल्ली सान्त्वना हुन सफल भएका थिए । प्रथम ,दोस्रो , तेस्रो र सान्त्वना हुने विद्यार्थीहरूलाई क्रमश ६ हजार, ५ हजार, ४ हजार र दुवै जनालाई तीन–तीन हजार राशीसहित प्रमाणपत्र प्रदान गरिएको थियो । पुरस्कार राशी सौजन्य नवोदय शिशु सदनका शैक्षिक निर्देशक अव्यक्त खनालले गरेका थिए ।
विज्ञान शिक्षक समाज मकवानपुरका सचिव सुवास खनालले सहजीकरण गरेको सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि घलानले भोलिको समय राम्रो बनाउन र समाज उन्नत बनाउन विज्ञान शिक्षाको महत्वपूर्ण भूमिका रहने बताए । साथै विशिष्ट अतिथि घिमिरेले विज्ञान शिक्षा र क्षेत्रमा उचित लगानी गरेमात्र समाज र देश समुन्नत हुने धारणा राखे ।
सोस्टा मकवानपुरका अध्यक्ष भोगेन्द्र लुईँटेल, गणित शिक्षा परिषद्का अध्यक्ष धनिकलाल साह, नवोदय शिशु सदनका शैक्षिक निर्देशक अव्यक्त खनाल, शिक्षक प्रेम क्षेत्री, अग्रज शिक्षक रघुनाथ घिमिरे, विज्ञान शिक्षक समाज मकवानपुरका सल्लाहकारहरू विनोद गुप्ता, रामकुमार ठाकुर, पत्रकार सुरेश श्रेष्ठलगायतको आतिथ्यता रहेको उक्त कार्यक्रममा स्वागत मन्तव्य स्ट्यान उपाध्यक्ष भरत पोख्रेलले राखेका थिए । नवोदय शिशु सदनका सिएम रिमाल, अतिथिहरू भोगन्द्र लुईँटेल, धनिकलाल साहलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम स्ट्यान जिल्ला अध्यक्ष खेमराज लामिछानेको सभाध्यक्षतामा भएको थियो ।
कार्यक्रमको दोस्रो सत्रमा भएको विज्ञान कार्यशालामा भने मकवानपुर जिल्लाका बाइस जना विज्ञान शिक्षकहरूले सहभागिता जनाएका थिए । कार्यशालाको सहजीकरण नवोदय शिशु सदनकी अनुष्का श्रेष्ठले गरेका थिए ।