काठमाडौं, २० असोज ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांस्कृतिक पहिचान र प्रतिधिनित्व गर्ने मौलिक पर्वले विविधताभित्रको एकता र राष्ट्रिय स्वाधीनतालाई सुदृढ गर्ने बताएका छन् । जितिया पर्वको शुभकामना दिँदै उनले नेपाली समाजका संस्कृति र संस्कारहरूका आ–आफ्नै विशिष्ट मौलिक पहिचान र विशेषताहरू रहेको बताएका हुन् ।
‘यस्ता ऐतिहासिक दिनहरूले नेपाली समाजको बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषतालाई आत्मसात् गरी सामाजिक सांस्कृतिक सहिष्णुता र सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका खेल्दछन् ।’शुभकामना सन्देशमा भनिएको छ,‘प्रचलित संस्कार, संस्कृति र पर्वहरूले सामाजिक जीवनपद्धतिका विविध पक्षहरूलाई गतिशील तुल्याउँछन् । सांस्कृतिक पहिचान र प्रतिधिनित्व गर्ने यस प्रकारका मौलिक पर्वहरूले विविधताभित्रको एकता र राष्ट्रिय स्वाधीनतालाई सुदृढसमेत गर्दछन् ।’
जितिया पर्व पारिवारिक एकता, मातृत्व र अन्तर्घुलनको अनुपम दृष्टान्तसमेत रहेको बताए । उनले पर्वले हाम्रो विविधता र पहिचानसहितको राष्ट्रिय एकतालाई सुदृढ गर्न, आपसी सद्भाव र सहिष्णुता कायम गर्दै संविधानप्रदत्त अधिकारको प्रगतिशील कार्यान्वयनका निम्ति समस्त नेपालीहरूमा उत्प्रेरित गर्ने विश्वास व्यक्त गरे ।
हिन्दू पात्रोअनुसार असोज कृष्ण पक्षको अष्टमीदेखि नवमीसम्म मनाइने जितिया पर्व आज सकिँदैछ । बिहीबारदेखि सुरु भएको यो पर्व आज विहान पूरा हुन लागेको हो ।
ज्यातिषशास्त्रअनुसार महिलाले सन्तानको दीर्घायु र समृद्धिका लागि जितिया व्रत बस्ने गर्दछ । यो व्रत बस्दा सन्तान प्राप्तिका साथै सन्तानलाई दुःख, पीडा र समस्याबाट जोगाउँछ भन्ने विश्वास गरिन्छ । जितियालाई जीवितपुत्रिका व्रत पनि भनिन्छ ।
महिलाहरु व्रतको विधि पालना गर्दै बिहीबार नजिकैको पोखरी तथा तलाउमा नुहाएर घिरौलाको पातमा, तोरीको तेल, सिन्दूर, तोरीको पीना (खैर), मेहन्दीको पात, फूलआदि चढाएर विधिपूर्वक नहाय खाय गरेका छन् ।
उपवासको पूर्वसन्ध्यामा मध्यरातमा खाने खाना दही च्युउरासँगै माछा र मरुवा अनिवार्य खाने चलन छ । शुक्रबार बिहान ४ बजेवाट निराहार बसी शनिबार विहान १० बजेपछि नवमी तिथी प्रारम्भ भएसँगै उपवास तोडेपछि जितिया व्रत सम्पन्न हुनेछ ।