भरतपुर, १८ असोज ।
मोफसलमै पहिलोपटक हुन लागेको ‘एनप्लस प्रोफेसनल लक्की फिल्मी अवार्ड-२०८० तथा सम्मान´ कार्यक्रमको उद्घाटन भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गर्ने भएकी छन् । असोज २५ गते बिहीबार बिहान ११ बजे भरतपुरको सिजी ल्याण्डमार्कस्थित चितवन सिनेप्लेक्समा आयोजना हुने अवार्ड कार्यक्रमको भव्य समारोहकाबीच नगरप्रमुख दाहालले उद्घाटन गर्ने तयारी भएको आयोजक संस्था लक्की मिडिया हाउस चितवनले जनाएको छ ।
काठमाडौँ उपत्यका बाहिर पहिलोपटक आयोजना हुन लागेको फिल्मी अवार्ड मोफसलकै चर्चित लक्की मिडिया हाउस चितवनले आयोजना गरेको हो । अवार्ड कार्यक्रमको विशिष्ट अतिथिका रुपमा नेपाली चलचित्र जगतका वरिष्ठ कलाकार निर शाह रहने लक्की मिडिया हाउस चितवनका महाप्रबन्धक हरि कार्की ‘लक्की’ले जानकारी दिए । कार्कीका अनुसार अवार्ड वितरण कार्यक्रमको तयारी तीव्र गतिमा अगाडि बढिरहेको छ ।
कलाकारहरुलाई विभिन्न दुई दर्जन विधामा अवार्ड वितरणका लागि नोमिनेसन सार्वजनिक गरिएको समेत कार्कीले जानकारी दिए । कलाकारहरु राष्ट्रका उज्ज्वल नक्षत्र भएकाले उनीहरुको सम्मान र हौसलाका लागि मिडिया हाउसले अवार्ड वितरण कार्यक्रम राखेको भन्दै कार्कीले यो कार्यक्रमलाई आगामी वर्षहरुमा समेत निरन्तरता दिइने बताए ।