भरतपुर, १४ असोज ।
भरतपुर महानगरपालिकाले समयमै कर बुझाउने करदातालाई असल करदाता स्टिकर वितरण गरेको छ । महानगरपालिकाको आर्थिक ऐन, २०८० बमोजिम २९ वटै वडाका असल करदातालाई ३ वटा रङ भएका स्टिकर वितरण गरेको छ ।
व्यवसाय कर तिर्ने करदातालाई हरियो, सम्पत्ति तथा भूमिकरलाई रातो र घर जग्गा तथा बहाल कर तिर्ने करदातालाई निलो स्टिकर वितरण गरेको हो ।
महानगरपालिकाले कानुनी दायित्वको पालना नगरी व्यवसाय संचालन नगर्न, नवीकरण गर्न, घरबहाल कर दाखिला गर्न र सम्पत्ति कर बुझाउन सार्वजनिक आह्वान गरेको छ ।
असोज २३ गतेसम्म कर बुझाउने करदातालाई विषेश छुट सुविधा उपलब्ध गराइने महानगरका लेखा प्रमुख जगन्नाथ अर्यालले जानकारी दिए ।
कर दाखिला नगर्ने व्यक्ति वा संस्थालाई महानगरपालिकाबाट उपलब्ध सेवा सुविधा कटौती गर्ने महानगरपालिकाले जनाएको छ ।
भरतपुर महानगरपालिकाले राजस्व संकलनलाई आक्रामक रूपमा अघि बढाएको छ ।
महानगरपालिकाले कर संकलनका लागि टास्कफोर्समेत बनाउँदै छ । यसले कर संकलनमा सहयोग गर्नेछ । सोही समितिमार्फत अनुगमन समेत गरिने छ । महानगर प्रमुख रेनु दाहालले चालु आर्थिक वर्षमा राजस्व संकलनलाई अभियानकै रूपमा अघि बढाइएको जानकारी दिए । विगतका वर्षमा लक्ष्यअनुसार राजस्व संकलन नभएको भन्दै उहाँले चालु आर्थिक वर्षमा लक्ष्यभन्दा बढी राजस्व उठाउने बताए । महानगरभित्रका सबै टोल सुधार संस्थालाई यस अभियानमा सहभागी गराइएको उनको भनाइ छ ।
महानगरमा सङ्कलित करको दुई प्रतिशत सम्बन्धित टोल विकास संस्थालाई दिने गरी नीतिगत निर्णय भइसकेको छ । महानगरभित्र सात सय ४४ वटा टोल विकास संस्था छन् । महानगरले आन्तरिक स्रोतलाई बलियो बनाउन कर संकलनलाई अभियानका रूपमा अघि बढाएको उनले बताए ।