(पहिलो घटना)
पहिलो दिनको आन्दोलन सकेर करिब चार बजेपछि सुन्धाराबाट पठाओ चढेर म कीर्तिपुर जाँदै थिएँ । पठाओ चालक अन्दाजी ३५/४० वर्षका थिए । उनीसँग सामान्य गफ हुँदै थियो । कालिमाटी आइपुगेपछि उनले एउटा जिज्ञासा राखे, “सर तपाईहरूलाई यो आन्दोलन गर्न कसले खर्च दिन्छ ?” अनि मैले भनेँ, “कसैले दिँदैनन् । हामी आफ्नै खर्चमा आउने, जाने, खाने अनि बस्ने गरिरहेका छौं ।”
मैले यति भन्दै गर्दा ती चालकले मेरा कुरा सजिलै पत्याएनन् । हामी शिक्षक कसैबाट परिचालित भएर आन्दोलन गर्न पुगेको भन्ने उनलाई लागिरह्यो । उनी त एउटा प्रतिनिधि पात्र मात्र हुन् । धेरै मानिसहरू के सोचिरहेका छन् भने, “देशभरबाट आन्दोलन गर्न काठामाडौँ आएका यी शिक्षकहरू पक्कै कुनै अमुक संस्थाबाट परिचालित छन् । त्यही संस्थाले उनीहरूलाई भाडामा किनेर ल्याएको हुनुपर्छ ।”
आन्दोलनका लागि शिक्षकहरूलाई न कुनै युरोपियन संस्थाले फण्डिङ गरेको थियो न त रअ जस्ता निकायले नै । यो आन्दोलन हुनुमा न कुनै मिसिनरीको हात थियो न त कुनै साम्प्रदायिक समूहको । यो आन्दोलन कुनै पार्टीको प्रायोजन पनि होइन, न कुनै धर्मगुरुहरूको धर्मसभा ।
शिक्षकहरूको आन्दोलन वर्तमान विद्यालय शिक्षा प्रणालीमा रहेका विकृतिहरू विरुद्धको एउटा अभिव्यक्ति मात्र थियो । यहाँ लाखौँ शिक्षकहरूको अव्यक्त पीडा व्यक्त भएको थियो । वर्षौँदेखि राज्यको अपहेलित व्यवहारले निम्त्याएको कुण्ठा र निराशालाई शिक्षकहरूले आन्दोलनमार्फत प्रस्तुत गरेका थिए । अन्य राष्ट्रसेवक कर्मचारीहरूको भन्दा कम सेवा, शर्त र सुविधाले निम्त्याएको हीनताबोधको सुन्दर स्पष्टोक्ति थियो यो आन्दोलन ।
सुन्दर यस अर्थमा कि यस आन्दोलनमा हरेक शिक्षकको मनोभावना छताछुल्ल थियो तर पनि शान्तिपूर्ण र सौहार्द्रपूर्ण थियो । न एउटा टायर बल्यो कतै, न कहीँ रेलिङ नै भाँचिए । न कसैमाथि ढुङ्गामुढा प्रहार भयो, न कतै शालिक नै तोडिए । रगतको होली नखेली गरिएको आन्दोलन सायद नेपाली इतिहासको यो पहिलो हो । आन्दोलनकारी असीमित संख्यामा थिए । तर उनीहरू वानेश्वरदेखि माइतीघरसम्म प्रहरी घेराभित्र सीमित रही आन्दोलनमा सहभागी भए । शिक्षाप्रति सरकारको धारणा, वर्तमान शिक्षा प्रणाली र संसदमा दर्ता भएको शिक्षा विधेयक विरुद्ध नाराहरु घन्किरहे । गीतहरू बजिरहे । देउडा, कौरा र झ्याउरे गीतहरू गाइए । तर सबै शान्त, शालीन र सौम्य भावमा । यही त यो आन्दोलनको सुन्दर पक्ष थियो ।
(दोस्रो घटना)
यो घटना आन्दोलनको दोस्रो दिनको हो । समय मध्याह्न । केही घण्टाको नाराबाजी र नाचगान अनि त्यसपछि वानेश्वर–विजुलीबजार–बबरमहलको दौडधुप पछि हामी थकित भयौं । मुख सुक्यो । तिर्खा लाग्यो । झण्डै चार बजेको हुँदो हो, रवीन्द्र सर र म सेन्ट जेभियर कलेज आडैको पसलमा पस्यौं । एक जोडी वयस्कको सानो चियापसल रहेछ । हामीले पानी किन्यौं । मागिएको पानीसँगै उनले नमागेको आश्चर्य पनि थपिदिए, “सर मैले यहाँ दोकान गरेको २० वर्ष भयो । यति धेरै मान्छे त मैले २०६२।६३ को आन्दोलनमा पनि देखेको थिइनँ । मान्छे मान्छेको यत्रो भीड देख्दा त हामीलाई पो उकुसमुकुस भएको छ ।”
म केही बोलिनँ । रवीन्द्र सर मुस्कुराउनु भयो मात्र ।
आन्दोलनको उभार उम्दा थियो । दोस्रो र तेस्रो दिनसम्म आइपुग्दा देशका सातै प्रदेशका कुना कुनाबाट शिक्षक साथीहरू आउनुभएको थियो । कोही आउँदै हुनुहुन्थ्यो । केही साथीहरू उपत्यकाबाट बाहिरिँदै पनि हुनुहुन्थ्यो । आन्दोलनमा जान नभ्याएका साथीहरूमा पनि कतिबेला र कसरी आन्दोलनमा सहभागी हुने भन्ने हुटहुटी व्याप्त थियो । विराटनगरदेखि महेन्द्रनगरसम्म अनि ताप्लेजुङदेखि दार्चुलासम्मका साथीहरू अत्यन्त उत्साहित हुनुहुन्थ्यो ।
आन्दोलनको दुईतीन दिन अगाडिदेखि नै बस टिकट अग्रीम बुकिङ भएका थिए । शिक्षक साथीहरूले खचाखच सयौँ बस नागढुंगाबाट भित्रिँदै थिए । सबैमा एउटा आशा थियो कि पेशागत विकास, वृत्तिविकास र आत्मसम्मानमा जारी आन्दोलनले नौलो आयाम दिनेछ । यो एउटा सपना थियो । पार्टीका झोला फालेर, स्थानीय मत मतान्तर बिर्सिएर विशुद्ध प्राज्ञिक र नैसर्गिक अधिकारका लागि गोलबद्ध भएर शिक्षकहरुको लाग्नुभएको थियो । आन्दोलनमा बाल शिक्षक, अनुदान शिक्षक, राहत, करार, स्थायी अनि अस्थायी सबै प्रकारका शिक्षकहरूको सक्रियता थियो । आँखाहरूले सुनिश्चित भविष्यको सपना आन्दोलनको मुख्य आधार थियो ।
(तेस्रो घटना)
आन्दोलनको तेस्रो दिनको साँझको कुरा हो । बासस्थान फर्कने क्रममा साझा बसको सिटमा शयर गर्दै थियौं । एकजना साथीले मोबाइल हेर्दै भन्नुभयो, “साथीहरू १ सम्झौता भएछ । सम्झौताको ड्राफ्ट आएको छ । आधिकारिक हो कि नाइँ थाहा छैन ।”
तत्काल त्यस्तो केही सोचिएन । सायद सम्झौता भयो राम्रै भयो होला भन्ने लाग्यो । तर जब साँझमा सम्झौताको पूर्ण पाठ पढियो, हामी छाँगाबाट खसेजस्तै भयौं ।
पहिलो बुँदामा नै मर्यादाको कुरा थियो । मर्यादाक्रम कायम गर्दा बाल शिक्षकलाई कति फाइदा ? राहत शिक्षक लाई कति फाइदा ? आधारभूत, अनुदान र ०७५ साल पछिका स्थायी, पेन्सनबाट वञ्चित, आदि शिक्षकलाई के फाइदा ? जसले ९० प्रतिशत शिक्षकसँग कुनै औचित्य राख्दैन त्यही हुँदा पहिलो नम्बरमा !
हुनुपर्ने के थियो ?
शिक्षा सेवा, शैक्षिक प्रशासनमा शिक्षकलाई प्रवेश सहित प्रशासकीय पदहरूमा पदसोपानको व्यवस्था हुनु पर्थ्यो
पूर्व बालविकास कक्षालाई विद्यालय प्रणालीमा समावेश गरिनु पर्थ्यो
सहजकर्ता हैन, शिक्षकको दर्जा सहितको पारिश्रमिक र वृत्तिविकासको पूर्वाधार सुनिश्चित गरिनुपर्थ्यो
विद्यालयको आर्थिक भौतिक सामाजिक सम्पूर्ण जिम्मेवारी सम्हालेर बसेका विद्यालय कर्मचारीको माग सम्बोधन हुनुपर्थ्यो
तहगत र आवधिक बढुवाको शतप्रतिशत सुनिश्चितता हुनुपर्थ्यो
पूर्व ऐनकै प्रावधानमा टेकेर पेन्सन प्रणालीको ग्यारेन्टी हुनुपर्थ्यो
पेन्सन प्रयोजनमा अस्थायी सेवा अवधिको पुरा मूल्याङ्कन हुनुपर्थ्यो ।
स्थानीय तहको क्षेत्राधिकारभित्र भएपनि सरोकारवालाको संयन्त्रबाट मात्र सरुवा र सजायका व्यवस्थाको कार्यान्वयन सुनिश्चित हुनुपर्थ्यो ।
वृत्तिविकास, पेशागत विकास, प्रोत्साहन कोष, ग्रेड, सरुवा बाटो म्याद र खर्च, घरविदा, उपचार खर्च, सन्तति वृत्ति, अशक्त वृत्ति, मृत्यु भएको अवस्था मा आर्थिक सहायता अन्य राष्ट्र सेवक सरह हुनुपर्थ्यो ।
यी त केही उदाहरणहरू मात्र हुन् । झण्डै ५२ वर्षपछि आउने भनिएको शिक्षा विधेयक विद्यालय शिक्षा प्रणालीलाई आमूल रूपमा अग्रगामी परिवर्तन गर्ने खालको हुनुपर्थ्यो । शिक्षक महासंघ र सरकारबीच भएको वार्ता, वार्ताबाट निस्किएको नतिजा अर्थात् सम्झौता एउटा उत्सवका रूपमा आउन सक्नुपर्थ्यो । फगत उधारो आश्वासनमा आन्दोलनको औचित्यलाई अवमूल्यन गरियो ।
नेपाली शिक्षकहरूको नियति र दुर्भाग्य म्याद सकिएको महासंघ, शिक्षक जागिरबाट अघाएका मनोनीतहरूको हालीमुहाली, निवृत्त भएपछि पार्टीको पुच्छर समातेर वैतरणी तर्ने दाउमा रहेका स्वार्थी झुण्डहरूको अविवेकी निर्णयले आन्दोलनलाई गर्भमै तुहाइयो ।
महासंघले मागमा न कुनै बटमलाइन राख्यो, न वार्तामा विधेयकको ड्राफ्ट आफैँ लिएर वा बनाएर कुनै अडान लिन सक्यो ।
बजारमा हल्ला चलेसरी कोही खरीदविक्री भयो या भएन त्यो त थाहा भएन तर वार्तामा विवेक पुगेन । आफ्ना मागहरू यीयी हुन् भनेर स्पष्ट भन्न र राख्न नसक्ने वार्ताटोलीका वरिष्ठहरूको विवेक नपुग्दा यो आन्दोलन इतिहासको गर्भमा सीमित रहन पुग्यो ।
हजारौँ शिक्षकका सपनाहरू खोसिए । आस्था र विश्वासको दियो निभ्यो । ऐतिहासिक भनिएको आन्दोलन उधारो सम्झौतामा सकियो । यद्यपि केही साथीहरूले हिम्मत हार्नुभएको छैन । माइतीघर मण्डला अहिले पनि आन्दोलनरत छ । आशाको सानो त्यान्द्रो सल्बलाइरहेको छ । साथीहरूको यो पछिल्लो आन्दोलनप्रति भौतिक उपस्थिति हुन नसकेपनि नैतिक रूपमा वर्गीय समर्थन कायमै छ ।