भरतपुर, १२ असोज ।
भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले भरतपुरलाई देशको दोस्रो पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने क्रम जारी रहेको बताएकी छन् । बिहिबार भरतपुर महानगरपालिकामा आईपुगेको गोल्डेन ट्रयाङगल टुरमा निस्किएको टोलीलाई स्वागत गर्दै प्रमुख दाहालले यसको एउटा कडी भरतपुर भ्रमण वर्ष २०२४ भएको उल्लेख गरिन् ।
भरतपुरमा चितवन राष्ट्रिय निकुञ्ज, दुई विशाल नदी नारायणी र राप्ती, १ दर्जनभन्दा बढी ताल, चारैतिर जंगल र उच्च भूभाग चौकीडाँडा पनि महानगरमै रहेकाले देशको दोस्रो पर्यटकीय गन्तव्य बन्नेमा आशावादी रहेको बताइन् ।
प्रमुख दाहालले भरतपुर भ्रमण वर्ष २०२४ मा पर्यटकलाई हिंसात्मक बाघ देखाइने बताइन् । चितवन राष्ट्रिय निकुञ्जसँगको सहकार्यमा केजमा हिंसात्मक वा नरभक्षी बाघलाई पर्यटकलाई देखाउने गरी काम अगाडि बढेको पनि जानकारी दिइन् । उनले भरतपुरमा क्रुजदेखि साना बोटहरु सञ्चालनमा रहनुका साथै भरतपुर २९ को चौकीडाँडामा प्याराग्लाडिङको सुविधा पनि लिन सकिने जानकारी दिईन् ।
उनले गोल्डेन ट्रयाङगल टुरमा निस्किएको टोलीलाई भरतपुरमा स्वागत गर्न पाउँदा निकै खुसी लागेको बताइन् ।
भ्रमण वर्षको अवसरमा पहिलोपटक यसरी टुरमा निस्किएको टोलीलाई स्वागत गरिएको पनि बताइन् ।
टोलीले भरतपुरका १ दर्जन बढी ठाँउमा घुम्ने छ । बाईक टुरका संयोजक विष्णु विवेकलाई प्रमुख दाहालले भरतपुर भ्रमण वर्षको लोगो अंकित झण्डा हस्तान्तरण गरिन् ।
कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाले भरतपुरमा निकुञ्जसहित भारतको गया, कासी बराबरको धामिर्क पर्यटकीय स्थल देवघाटधाम रहेको बताए । उनले टोलीमा सहभागी सबैलाई डिजिटल प्रविधिमार्फत भरतपुरको पर्यटनलाई विश्वभर प्रचारप्रसारका लागि आग्रह गरे ।
४४ औँ विश्व पर्यटन दिवसको अवसरमा गोल्डेन ट्रयाङगल टुरमा निस्किएको टोली काठमाडौँ, हेटौँडा, भरतपुर, लुम्बिनीहुँदै पोखरा पुग्ने छ । करिब ५० वटा बाईकमा १०० जनाको टोलीले नेपालमा पर्यटन प्रर्वद्धन गर्ने उदेश्यले विभिन्न समयमा यस्ता टुरहरु गर्दै आईरहेको छ ।