भरतपुर, ८ असोज ।
सेप्टेम्बर २५ अर्थात् तेह्रौं ‘विश्व फर्मासिष्ट दिवस’ को अवसर पारेर आज सोमबार चितवनमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । नेपाल फार्मेसी संघ चितवन शाखाको आयोजनामा भरतपुरमा जिल्लास्तरीय भेला, प्रभातफेरी तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको संघका अध्यक्ष सुशील सिग्देलले जानकारी दिए ।
भरतपुर–१० स्थित वीरेन्द्र बहुमुखी क्याम्पस अगाडिबाट निस्कने प्रभातफेरी हस्पिटल रोड, भरतपुर अस्पताल हुँदै जिल्ला समन्वय समितिको कार्यालयमा गएर अन्तरक्रिया कार्यक्रममा परिणत हुने संघका सचिव धर्मनाथ यादवले बताए । ‘वर्तमान अवस्थामा फार्मेसी पेशाका अवसर र चुनौती’ लगायतका समसामयिक विषयमा अन्तरक्रिया गरिने उनले जनाए ।
यस्तै, ‘विश्व फर्मासिष्ट दिवस’ को अवसरमा सोमवार नेपाल फर्मास्यूटिकल एसोसिएसन बाग्मती प्रदेशको आयोजनामा फर्मासिस्टहरूलाई विशेष तालिम दिन लागिएको एसोसिएसनका सचिव सन्दिप पाठकले जानकारी दिए । सो तालिम तथा शुभकामना आदानप्रदान कार्यक्रम जिल्ला समन्वय समितिको सभाहलमा हुने उनले बताए ।
कार्यक्रममा विभिन्न पेसा–व्यवसायमा आबद्ध फर्मासिस्ट, सहायक फर्मासिस्ट (फार्मेसी सहायक) विभिन्न फार्मेसी कलेजमा अध्ययनरत विद्यार्थीहरु, पत्रकार, बुद्धिजिवी, सर्वसाधारण लगायतको उपस्थित रहने आयोजकले जनाएको छ । नेपाल फार्मेसी संघ फार्मेसी क्षेत्रको पेशागत हकहितको निम्ति निर्माण भएको साझा संस्था हो ।