भरतपुर, ३ असोज ।
नारायणगढमा प्रधान कार्यालय रहेको हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले अन्तर्राष्ट्रिय साक्षरता दिवस- २०२३ को अवसरमा जिल्लास्तरीय अन्तर मावि निबन्ध लेखन प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम बुधवार नारायणगढमा सम्पन्न गरेको छ । `शिक्षाः विकासको मूल आधार´ शीर्षकमा गरिएको प्रतियोगितामा चितवन जिल्लाका ३९ विद्यालयका ७४ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । उक्त प्रतियोगितामा नेपाल आदर्श शिक्षा सदनकी उषा पौडेल प्रथम, वाल्मीकि शिक्षा सदनकी प्रार्थना बेलवासे द्वितीय, हिमालय दण्डपाणी माविकी अनिशा सुवेदी तृतीय, चितवन माविका विशाल मग्रातीले सान्त्वना स्थान हासिल गरेका थिए ।
सो अवसरमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने विद्यार्थीलाई क्रमशः रु. पाँच हजार, तीन हजार, दुई हजार र एक हजार नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष तथा प्रमुख अतिथि दिनेशकुमार चुकेले सहकारीसँग विद्यार्थीलाई जोड्ने र सहकारिताको महत्व उजागर गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । त्यसैगरी संस्थाको शिक्षा उपसमितिका संयोजक देशबन्धु अधिकारीले नयाँ पुस्तालाई औपचारिक शिक्षामा नै सहकारी सम्बन्धी विषयको अध्ययन गराउनु पर्नेमा जोड दिँदै कार्यक्रमको औचित्य माथि प्रकाश पारेका थिए ।
पुरस्कार वितरण कार्यक्रममा संस्थाका सचिव शारदा शर्मा पौडेल, कोषाध्यक्ष प्रमोदकुमार श्रेष्ठ, संचालकहरु होमनाथ सापकोटा, सूर्य बराल, प्रबन्धक नारायणप्रसाद सापकोटा, विभिन्न उपसमितिका सदस्यहरु लगायत शिक्षक, विद्यार्थीहरुको सहभागिता रहेको थियो । निबन्ध लेखन प्रतियोगिताको परिक्षक तथा निर्णायकमा हरि लामिछाने तथा विपिन पाठक रहेका थिए । संस्थाका शिक्षा उपसमितिका संयोजक देशबन्धु अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य उपसमितिका सदस्य नेत्रबन्धु पोख्रेलले तथा सदस्य विदुर केसीले कार्यक्रम संचालन गरेका थिए ।