काठमाडौं, ३१ भदौ ।
काठमाडौंको तीनकुनेस्थित श्री दिव्य सः मिल तथा काष्ठ उद्योगमा शुक्रबार राति भएको हत्याकाण्ड मोटरसाइकलको ठक्करपछि भएको विवादको बदला लिन खोज्दा घटेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरका अनुसार सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-९ का २३ वर्षीय सञ्जय भण्डारीले शुक्रबार राति ४ जनाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।
केही समयअघि नवीन भनिने विशाल राईले भण्डारीलाई चाबहिलमा मोटरसाइकलले ठक्कर दिएको र पछि राईले उनलाई कुटपिट गरेका थिए । जन्मजात बोल्न नसक्ने भण्डारीले त्यसपछि राईसँग पटक-पटक मोटरसाइकलले ठक्कर दिएको घटनाका विषयमा कुरा गर्न खोजेका थिए ।
कुरा हुन नसकेपछि शुक्रबार उनी काँडाघारीबाट खुकुरी बोकेर राईले काम गर्ने काठ मिलमा पुगेको र हत्या गरेको पाइएको प्रहरीले जनाएको छ । उनले सुरूमा राईको टाउकोमा खुकुरी हानेर हत्या गरेको र पछि त्यहाँ अरू मान्छे पनि देखेपछि उनीहरूले प्रहरीलाई भनिदिने ठानेर अन्य तीन जनाको पनि सोही खुकुरी प्रहार गरेर हत्या गरिएको प्रहरीको भनाइ छ ।
भण्डारीले सोही मिलमा काम गर्ने दोलखाका कुमार भनिने पूर्णबहादुर भुजेल, उनकी पत्नी अम्बिका भुजेल र आमा शुभद्रा भुजेलको पनि हत्या गरेका थिए ।
चार जनाको हत्या गरेर भण्डारी काँडाघारीस्थित दिदीभिनाजुको घरमा गएर बसेका थिए । आइतबार बिहान उनलाई काठमाडौंमा प्रहरीले आफूलाई पक्रिन सक्ने ठानेर सिन्धुपाल्चोक जान लागेको अवस्थामा पक्राउ गरेको हो ।