काठमाडौँ, ३१ भदौ ।
अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको जीवनीको नेपाली संस्करण काठमाडौँमा सार्वजनिक भएको छ । ‘द ट्रुथ वी होल्ड’को नेपाली अनुवाद ‘सत्यको जगमा उभिएर’ सार्वजनिक भएको हो ।
पुस्तकको अनुवाद विप्लव प्रतीकले गरेका हुन् । अनुवादक विप्लव प्रतीक र लेखक/अनुवादक सगुना शाह तथा वीरीडको सीइओ सुनिती अमात्यले पुस्तक विमोचन गरे ।
अनुवादक प्रतीकले कमला ह्यारिसको जीवन हरेक मानिसलाई प्रेरणा र ऊर्जा दिने दिने खालको भएको बताए । दुई वर्षअघि नै पुस्तकको काम थालिए पनि विविध प्राविधिक कारणले ढिलाइ हुन पुगेको प्रतीकको भनाइ थियो ।
वीरिड प्रकाशनका अनुसार पुस्तकले अधिकारकर्मी, सामाजिक न्यायकी अभियन्ता, क्यालिफोर्नियाकी सिनेटर एवं उपराष्ट्रपति ह्यारिसलाई चिनाउँछ । जनताको न्यायका लागि लडिरहेका उनका प्रारम्भिक दिन, राजनीतिमा उनको प्रवेश र यसभित्रका संघर्षलाई पुस्तकले बयान गरेको छ । जमैकेली बुबा र दक्षिण भारतीय आमाकी छोरी ह्यारिसले समानता र राज्य प्रणाली सुधारका लागि गरेका संघर्ष पुस्तकमा समेटिएको छ ।