कावासोती, २९ भदौ ।
लायन्स क्लव अफ चितवन वाङ्गमयका सल्लाहकार लायन कर्णेल धनबहादुर मास्की रानाले ७६औँ जन्मदिनको अवसर पारेर फरक क्षमता भएका यमबहादुर खम्चा मगरलाइ ल्यापटप उपलब्ध गराएका छन् ।
अटिजमले प्रभावित आधुनिक प्रविधिसँग रमाई रहेका यमबहादुर खाम्चा मगर जसले १२ कक्षासम्मको अध्ययन पुरा गरी बेसिक कम्प्युटर कोर्स पूरा गरेका छन् । खाम्चाले खुट्टाले कम्प्युटर चलाउने गर्दछन् ।
रानाको जन्मोत्सव पारेर लायन्स क्लब अफ चितवन वाङ्गमयले कावासोतीको पानस रिसोर्टमा सहयोग कार्यक्रमको आयओजना गरेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि आइपिडिजी पिएमजेएफ लायन सिद्धार्थलाल चुकेले जन्मदिनको अवसरमा फरक क्षमता भएका यमबहादुर खाम्चालाई ल्यापटप वितरण गरेर मास्की रानाले आफूलाई सामाजिक व्यक्तित्वको रुपमा प्रस्तुत गरेको बताए ।
त्यस्तै विशिष्ट अतिथि एमजेएफ लायन दिननाथ न्यौपानेले यमबहादुर खाम्चालाई भेट्दै गर्दा झमककुमारी घिमिरेको झझल्को आएको बताउँदै उनको खुबीलाई पहिचान गरी ल्यापटप वितरण गर्नुभएकोमा कर्णेल धनबहादुर मास्कीलाई धन्यवाद दिँदै जन्मदिनको शुभकामना व्यक्त गरे ।
पूर्वअध्यक्ष लायन रामहरि शर्मा, सूर्यमणि रेग्मी, क्लवका सहसचिव राजेन्द्र घायलले शुभकामना कविता वाचन गरेका थिए ।
वाङ्मयकी अध्यक्ष लायन लीला रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डिस्ट्रीक्ट एक्जुकेटिभ चिफ एमजेएफ लायन राजेन्द्र गौतम, डिस्ट्रीक्ट कोएक्जुकेटिभ चिफ एमजेएफ लायन बालगोपाल चुके, क्लस्टर चिफ एमजेएफ लायन पुरन थापा, रिजन चियरपर्सन लायन गोविन्द अर्याल, जोन चियरपर्सन लायन हरिप्रिया रिजाललगायत लायन एवम् गैर लायन गरी करिव ५० जनाको उपस्थिति रहेको कार्यक्रमको अन्त्यमा तीज विशेष फेलोसिप कार्यक्रम पनि जोडिएको थियो । कार्यक्रमको सहजीकरण क्लवका सचिव राजेन्द्र पौडेलले गरेका थिए ।