भरतपुर, २५ भदौ ।
भरतपुर-७ उज्ज्वल टोलभित्र रहेको एकता दिदिबहिनी समूहले घरआँगनमै तीज कार्यक्रम गरेको छ । पार्टी प्यालेसमा हुने खर्च कटौती गर्दै समुहका दिदिबहिनीहरुले टोलभित्रै कार्यक्रम गरेका हुन् ।
संस्थागत रातो सारिमा सजिएर तीज विशेष कार्यक्रम गरेका छन् । समूहकी सचिव सुनिता भट्टले भोजभतेर गरेर दर खाने संस्कृति गलत भएकाले गाउँटोल मै तीज मनाउन सकिने सन्देश दिइएको बताइन् । उज्ज्वल टोलको मार्ग नम्बर ३६-३७ का करिब ७० जना छिमेकीहरु एकसाथ मिलेर तीजको शुभकामना आदानप्रदान गरेका छन् ।
छिमेकीकै घर, आँगनमा तीज गीतमा छमछमी नाचेका थिए । उनीहरूले तीजको दर खान भन्दै पैसा खर्चेर भोजभतेर नगर्ने प्रतिवद्धता पनि जनाएका छन् । समूहकी अध्यक्ष रीता घिमिरेले टोलभित्रै छिमेकीको दैलोमै तीज कार्यक्रम गर्ने परम्परा सुरुवात गरेको बताइन् ।