भरतपुर, २५ भदौ ।
आर्थिक मन्दीको वर्तमान समयमा आर्थिक गतिविधिलाई थप चलायमान बनाई महिला उद्यमीहरुलाई दिगो उद्यमशीलताको लागि प्रेरणा दिन सहयोग मिलोस् भन्ने उद्देश्यले उद्यमशील एक्स्पो गरिएको छ । चितवन उद्योग संघ महिला उद्यमी मञ्च र चितवन उद्योग संघ युवा उद्यमी मञ्चको संयुक्त आयोजना र महिला सिर्जनशील केन्द्रको सहकार्यमा महिला दिदीबहिनीहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर चितवनमा पहिलोपटक भदौ २२ गतेदेखि शुरु भएको तीज विशेष उद्यमशील एक्स्पो–२०८० को एक कार्यक्रमकाबीच आइतबार समापन गरिएको छ ।
चितवन उद्योग संघ महिला उद्यमी मञ्चकी अध्यक्ष पार्वती सुवेदी कुँवरको अध्यक्षतमा सम्पन्न समापन कार्यक्रममा चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेल प्रमुख अतिथि रहनुभएको थियो ।
बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री उत्तम जोशीले उद्घाटन गर्नुभएको एक्स्पोको दोश्रो दिन उद्यमशीलतामा विविधता सम्बन्धी सेमिनार सहितको उद्यमी सम्मेलन भएको थियो ।
चितवन उद्योग संघ महिला उद्यमी सदस्य एवम् साँस्कृतिक कार्यक्रम संयोजक अम्बिका धितालले स्वागत मन्तव्य सहित कार्यक्रमको बारेमा जानकारी गराउनुभएको थियो ।
एक्स्पोका अन्तिम दिन चितवन तथा आसपास जिल्लाका महिला उद्यमीहरु बीच भएको “उद्यमशीलतामा महिलाको सहभागिता, अवसर र चुनौती” शीर्षक तीज गीत प्रतियोगितामा सहभागी ६ समूहलाई पछि पार्दै नवलपुर उद्योग संघ, महिला उद्यमी मञ्च, नवलपुर प्रथम हुन सफल भएको छ ।
त्यस्तै तीज गीत प्रतियोगितामा चितवन उद्योग संघ, महिला उद्यमी मञ्च, खैरहनी द्वितीय, चितवन उद्योग संघ, महिला उद्यमी मञ्च, कालिका तृतीय र उद्यमशील महिला समूह, रत्ननगरले सान्त्वना स्थान हासिल गरेका छन् । प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने समूहलाई रु २०,०००, रु १५,०००, रु १०,००० र रु ५,००० प्राप्त गरेका थिए । त्यस्तै प्रतियोगितामा सहभागी अन्य दुई समूहरुलाई रु २००० का दरले प्रदान गरिएको कार्यक्रम संयोजक एवम् महिला उद्यमी मञ्चकी उपाध्यक्ष सृजना सोतीले जानकारी दिनुभयो ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष अमर विरही गुरुङ प्रमुख निर्णायक रहनुभएको प्रतियोगितामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेश सदस्य सिता कँडेल र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान चितवका द्वितीय उपाध्यक्ष उपेन्द्र देवकोटा (गोर्खाली) निर्णायकको भूमिकामा रहनु भएको थियो ।
प्रतियोगिताका निर्णायकहरुले सुर, ताल, लयमा २० अंक, प्रस्तुतिमा २० अंक भेषभुषामा २० अंक, गीत र नृत्यको तालमेलमा २० अंक र शब्द संयोजनमा २० अंक गरी १०० अंकको आधारमा निर्णय गरेका थिए ।
विशेष साँस्कृतिक कार्यक्रम तथा प्रतियोगितात्मक कार्यक्रममा वाद्यवाधकतर्फ सुरज बज्राचार्य, दानु गुरुङ र अभिषेक घर्ती मगरले साथ दिएका थिए ।
एक्स्पोमा हस्तकलाका सामानहरु, तीज विशेष सामाग्रीहरु, स्वदेशी लत्ताकपडा, जुत्ता, चप्पल बुटिकका उत्पादनहरु, गिफ्ट आइटम र गरगहना (ज्वेलरी)हरु, खाद्यान्नका परिकारहरु, मेहन्दी, सौन्दर्य सामाग्री र त्यसका सेवाहरु, होम डेकोर, इलेक्ट्रोनिक्स, फर्निचर तथा फर्निसिङका सामाग्रीहरु, भोकेशनल तालिम केन्द्र तथा कलेजहरु, बैक तथा वित्तीय संस्थालगायतका ५२ वटा स्टलहरु रहेका थिए ।
चितवन औद्योगिक विकास साकोसकी व्यवस्थापक प्रमिला थापाले सञ्चालन गर्नुभएको कार्यक्रमलाई चितवन उद्योग संघ महिला उद्यमी मञ्चकी अध्यक्ष पार्वती सुवेदी कुँवरले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।