भरतपुर, २४ भदौ ।
भरतपुर महानगरपालिका वडा नम्बर–२६ आदर्श माविमा रहेको एटिजम स्रोत कक्षा सञ्चालनमा आएको छ । आदर्श माध्यमिक विद्यालयको ६४ औँ वार्षिकोत्सवको अवसरमा स्रोत केन्द्रको आइतबार भरतपुर महानगरपालकिा प्रमुख रेनु दाहालले उद्घाटन गरिन् ।
भरतपुर महानगरपालिका वडा नम्बर–१० बालमन्दिर अटिजम विद्यालय सञ्चालनमा छ । महानगरपालिकाले शिक्षाको पहुँचमा सबै बालबालिकालाई पु¥याउन अटिजम विद्यालय स्थापन गरेको हो । आदर्श मावि प्राङ्गणमा रहेको भवनलाई रङरोगन गरी सञ्चालनमा ल्याइएको विद्यालयले जनाएको छ ।
महानगरपालिका प्रमुख दाहालले विद्यालयमा निःशुल्क पढ्न पाउनुपर्ने बालबालिकाको अधिकार संविधानमा किटान गरेकाले महानगरले सबै बालबालिकालाई विद्यालयको पहुँचमा पु¥याउने लक्ष्य लिएको बताइन् । प्रमुख दाहालले भरतपुर २६ कै कुनै एक कार्यक्रममा सहभागी भएको समयमा हेरचाह घरमा अवलोकन गर्न पुगेको र तत्काल नै स्रोत केन्द्र निर्माणलाई अगाडि बढाएको उल्लेख गरिन् ।
यो स्रोत केन्द्रलाई आवश्यक पर्ने थप स्रोत साधन महानगरपालिकाको तर्फबाट उपलब्ध गराउने प्रमुख दाहालले प्रतिबद्धता व्यक्त गरिन् । स्रोत केन्द्रका लागि विद्यालय बसको आवश्यकता रहेका कुरा जानकारी गराउँदै उनले भनिन्, ‘यो वर्ष विद्यालय बसको कार्यक्रम छैन । आगामी बस यो कार्यक्रमलाई अगाडि बढाउँछौँ ।’
महानगर प्रमुख दाहालले ५ वर्षअघि आर्दश माविमा विद्यार्थीको संख्या क्रमश घट्दो क्रममा रहेको तर अहिले ३ सय संख्या थप भई ७ सयको हाराहारीमा पुगेको बताइन् । महानगरपालिकाले विद्यालयहरुको पूर्वाधारमा राम्रै विकास गरेको र अब भने गुणस्तरीय वृद्धि गराउनेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने उनको भनाई थियो ।
स्रोत केन्द्रमा अहिले पश्चिम चितवनका १० जनाले सेवा लिइरहेका छन् । स्रोत केन्द्रले एटिजम भएकाहरुलाई शारीरिक व्यायाम, दैनिक नित्यकर्म, खेलकुद तथा अन्य ज्ञान सिकाउने गर्दछ । स्रोत केन्द्रका लागि एक जना शिक्षक पनि व्यवस्था गरिएको छ । अटिजम भएकाहरुलाई सम्बन्धित परिवारले दिनभर स्रोत केन्द्रमा स्याहार सम्भार गर्दछन् ।
कार्यक्रममा भरतपुर महानगरपालिका वडा नम्बर २६ का वडा अध्यक्ष ज्ञानप्रसाद खनालले पनि मन्तव्य व्यक्त गरेका थिए ।