भरतपुर, २४ भदौ ।
एटुजेड समाचार डटकमले महिला पत्रकार एवम् सञ्चारकर्मीबीच तीज पर्व विशेष आर्टिकल लेखन प्रतियोगिता गर्ने भएको छ । एटुजेडले महिला पत्रकार एवम् सञ्चारकर्मीबीच `तीजको साँस्कृतिक महत्त्व र यसको प्रभाव´ शीर्षकमा आर्टिकल लेखन प्रतियोगिता गर्ने भएको हो ।
मध्य नेपालको चितवन तथा आसपासका जिल्लाहरूलाई आधार क्षेत्र बनाएर डिजिटल प्लेटफर्ममार्फत सञ्चालनमा आएको अनलाइन पत्रिका एटुजेड समाचार डटकमले संस्कृति संरक्षणमा चल्ने कलमको सम्मान गर्दै उक्त प्रतियोगिता आयोजना गरेको हो ।
चितवनबाट पत्रकारिता शुरु गरि हाल जिल्ला, जिल्ला बाहिर वा विदेशमा समेत रहेका महिला पत्रकार / सञ्चारकर्मीहरूलाई पुनः चितवनसँग जोड्ने र मौलिक कला/संस्कृतिको महत्त्व र यसको जगेर्नाका लागि प्रोत्साहन गर्ने उद्देश्यले नेपाली महिला दिदीबहिनीहरूको महान पर्व हरितालिका तीजको अवसरमा आर्टिकल लेखन प्रतियोगिताको आयोजना गरिएको एटुजेड समाचार डटकमका अध्यक्ष किशोरचन्द्र सापकोटाले जानकारी दिए ।
आर्टिकल नेपाली भाषामा कम्तीमा १२०० शब्दको हुनुपर्नेछ । त्यस्तै प्रिति वा नेपाली युनिकोड फन्टमा टाइप गरि ईमेल a2zsamachar2075@gmail.com मा भदौ ३० गते ४ बजेसम्ममा आफ्नो, स्थायी ठेगाना, सम्पर्क मोबाइल नम्बर र फोटो सहित पठाउनुपर्ने छ । समयसीमा भित्र प्राप्त भएका आर्टिकलहरूलाई भदौ ३१ गते बिहान ११ बजेसम्म एटुजेड समाचारको वेबसाईट र फेसबुक पेजमा प्रकाशन गरिने छ ।
फेसबुक पेजमा असोज २ गतेसम्म गरिएका लाईक, सेयर, कमेन्ट र मेन्सनका आधारमा २० प्रतिशत पत्रिकाको आईटी टिमले र ८० प्रतिशत आयोजकले तोकेका निर्णायकहरुको मुल्याङ्कनको आधारमा उत्कृष्ट ४ प्रतियोगीहरू छनौट गरि पुरस्कृत गरिनेछ ।
आर्टिकल लेखनमा प्रथम हुनेलाई २० हजार, द्वितीयलाई १५ हजार, तृतीयलाई १० हजार र सान्त्वनालाई ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ भने सहभागी सबैलाई प्रमाणपत्र प्रदान गरिने छ ।
आयोजक संस्था एटुजेड समाचार डटकम डिजिटल पत्रिका फेसबुक प्लेटफर्ममार्फत पनि प्रकाशित हुने हुँदा सामाजिक सन्जाल प्रयोगमा पत्रकार र पाठक दुबै वर्गको सकारात्मक सक्रियताका लागि २०% निर्णयको आधार छुट्टाइएको अध्यक्ष सापकोटाले जानकारी दिए ।