भरतपुर, २४ भदौ ।
चितवन मेडिकल कलेजको भगिनी संस्था सिएमसी क्यान्सर इन्स्टिच्यूटमा मेडिकल अङ्कोलोजी शुभारम्भ गरिएको छ । आइतबार एक कार्यक्रमबीच नेपाल मेडिकल काउन्सिलका उपाध्यक्ष डा. शिवजी पौडेलले मेडिकल अङ्कोलोजी विभागको शुभारम्भ गरेका हुन् ।
सो अवसरमा डा. पौडेलले क्यान्सरका बिरामी नेपालबाट बाहिर जाने परिस्थिति बन्न नहुने बताए । क्यान्सरका बिरामी उपचारका लागि विदेश जाँदा राज्यलाई ठूलो आर्थिक भार पर्ने बताउँदै उनले त्यसलाई रोक्नु पर्ने बताए ।
देशका सातै प्रदेशमा क्यान्सर उपचारका युनिट विस्तार हुनुपर्छ भन्ने मान्यता आफ्नो रहेको भन्दै उनले चितवन मेडिकल कलेजले क्यान्सरको छुट्टै अस्पताल खोलेकोमा धन्यवाद दिए ।
सिएमसी र वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबीच धेरै कुरामा सहकार्य हुँदै आएको स्मरण गराउँदै उनले बिरामीको सहजताका लागि आगामी दिनमा थप सहकार्य गर्दै जाने बताए ।
उनले भने – `चितवनमा आएको बिरामीको चितवनमा नै उपचार होस् । अन्यत्र जान नपरोस् ।´ चितवनको चिकित्सक काठमाडौं जाँदा बिरामीले तीन महिना पालो कुर्नुपर्ने, त्यही चिकित्सक चितवन बस्दा बिरामी कुर्नुपर्ने अवस्था रहेको उनको भनाई छ । उनले भने – `चितवन आएको बिरामी काठमाडौं र विदेश जानु पर्दैन भन्ने वातावरण सबै मिलेर बनाउनुपर्छ ।´
कार्यक्रममा कलेजका शैक्षिक निर्देशक प्राडा गोपेन्द्र देवले सिएमसीले क्यान्सरको छुट्टै भवन बनाएर व्यवस्थित तरिकाले बिरामीलाई सेवा दिँदै आएको बताए । उनले सरकारी अस्पतालको शुल्कमा नै सबै खाले क्यान्सरको उपचार गर्दै आएको जानकारी दिए । संघीय र प्रदेश सरकारले क्यान्सर उपचारका लागि दिने छुट पनि यस अस्पतालबाट पाईने उनको भनाई थियो ।
उनले उद्घाटनको अवसरमा मेडिकल अंकोलोजी विभागका बेड (शय्या) एक महिनाका लागि निःशुल्क गरिएको घोषणा गरे । उनले वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालसँग मिलेर काम गर्न आफूहरु सधैंँ तयार रहेको बताए । कार्यक्रम अस्पतालका निर्देशक प्राडा दयाराम लम्सालले सञ्चालन गरेका थिए ।
इन्स्टिच्यूटको मेडिकल अङ्कोलोजी विभागमा १७ शय्या रहेका छन् । जहाँबाट केमोथेरापी, इम्युनोथेरापी र हार्मोनल थेरापी प्रयोग गरेर क्यान्सरको उपचारसँग सम्बन्धित सेवा दिईन्छ । बिरामीको विस्तृत उपचार योजना विकास गर्न सर्जनहरू र विकिरण अङ्कोलोजिस्टहरू जस्ता अन्य विशेषज्ञहरूसँग मिलेर मेडिकल अङ्कोलोजी विभागमा काम हुने गर्दछ । सिएमसी क्यान्सर इन्स्टिच्युट एक सय शय्या रहनेगरी चितवन मेडिकल कलेजले स्थापना गरेको क्यान्सर अस्पताल हो ।