भरतपुर, २४ भदौ ।
नेपाली कांग्रेसका वरिष्ठ नेता एवम् प्रतिनिधिसभा सदस्य डा. शेखर कोइरालाले पारदर्शिता र जवाफदेहिता लोकतन्त्रको मुलभूत सिद्धान्त भएको बताएका छन् । समाजमा पिछडिएका वर्गलाई माथि उठाउन सके मात्र हामी वीपीको अनुयायी हुनसक्ने बताउँदै कोइरालाले लोकतन्त्रमा अराजकता स्विकार्य स्पष्ट पारे ।
वीपी शान्तिनगर वनमा आयोजित नेपाली कांग्रेसको जिल्ला सम्मेलनको समापन कार्यक्रममा बोल्दै कोइरालाले देशमा दण्डहिनताको पराकाष्ठा नाघेको आभास भएको बताए । नेपाली कांग्रेस देशको यौटामात्रै लोकतान्त्रिक पार्टी भएकोले यसलाई रोक्न कांग्रेस बाहेक अरुले नसक्ने दाबी गर्दै कोइरालाले भने – ‘अब देशमा कांग्रेसीहरु गम्भीर हुनुपर्ने बेला आएको छ ।’
महानगर कांग्रेसले वीपी शान्तिनगर वनमा बनाएको वीपीको शालिक अनावरण गर्दै कोइरालाले भने – `वीपी शान्तिनगर वनमा रिसोर्ट बनाउने सुन्दैछु । यहि वीपी पार्कमा रिसोर्ट बन्नु भनेको वीपीको अपमान हो । यो कुरा कांग्रेसले बुझ्न आवश्यक छ ।’
सम्मेलनको समापन कार्यक्रममा बोल्दै जिल्ला सभापति राजेश्वर खनालले कांग्रेसले मात्रै मुलुकलाई रुपान्तरण गरि दिगो निकाश दिन सक्ने विश्वास व्यक्त गरे । देशमा आएका परिवर्तनलाई आत्मसात गर्दै जति कामहरु भएका छन्, ती सबै वीपीको विचार र सिद्धान्तमा भएको बताए । २०५३ साल चैत २६ मा गिरिजाप्रसाद कोइरालाले वीपीको शालिक अनावरण गर्दाको क्षण स्मरण गर्दै खनालले भने – ‘तत्कालित जिल्ला सभापति टेकप्रसाद गुरुङ र वडा नं. ३ का जनप्रतिनिति वामदेव खनालले जुन मोडल र आस्थाका साथ यो कामलाई अगाडि बढाए आज त्यसले सार्थकता पाएको छ ।’
वीपी कोइरालाको ११० औँ जन्मजयन्तीको अवसर पारेर आइतवार वीपी शान्ति नगरवनमा आयोजित नेपाली कांग्रेसको जिल्ला सम्मेलनको समापन कार्यक्रम वीपीको अर्धकदको शालिक अनावरण तथा बृहत् वृक्षारोपण कार्यक्रम गर्दै समापन भएको थियो । वीपीको अर्धकदको अनावरण, कार्यक्रमका प्रमुख अतिथि तथा काङ्रेसका वरिष्ठ नेता शेखर कोइरालाले गरेका थिए । कार्यक्रममा केन्द्रीय सदस्य टेकप्रसाद गुरुङ, प्रदेश सभा सदस्य तथा प्रदेश स्वास्थ्यमन्त्री उत्तम जोशी, महानगर सभापति तथा भरतपुर महानगर उपप्रमुख चित्रसेन अधिकारीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।