भरतपुर, २४ भदौ ।
पठन संस्कृति विकासमा लागिपरेको सम्पूर्ण किताब नारायणगढले स्थापना दिवसमा सामुदायिक विद्यालयकी छात्रालाई शैक्षिक सामग्री सहयाेग गरेकाे छ ।
छैटौँ स्थापना दिवसकाे अवसरमा शनिबार आयाेजित कार्यक्रममा सम्पूर्ण किताबले इच्छाकामना गाउँपालिका-७ स्थित देउराली राष्ट्रिय आधारभूत विद्यालयमा कक्षा ७ मा अध्ययनरत छात्रा विमला तामाङलाई शैक्षिक सामग्री हस्तान्तरण गरिएकाे हाे ।
प्रसिद्ध कवि गोविन्दराज विनोदी, एलबी क्षेत्री, नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष किरणकुमार खनालसहित जिल्लाका स्रस्टा एवम् पुस्तक व्यवसायीहरूको उपस्थितिमा तामाङलाई उक्त सामग्री उपलब्ध गराइएको हो । उनलाई झोला, कपडा, कापी, कलम, ज्यामिती बक्स, बालकथा, क्यालकुलेटर र नगदसहित शैक्षिक सामग्री उपलब्ध गराइएको सम्पूर्ण किताबका सञ्चालक लेखराम सापकोटाले जानकारी दिए ।
२०७५ सालमा स्थापना भएको सम्पूर्ण किताबले हरेक स्थापना दिवसमा यसरी नै शैक्षिक सामग्री प्रदान गर्ने गरेकाे छ । ‘विपन्न आदिवासी जनजाति छात्रालाई पढाइमा सहजता हाेस् भनेर यसाे गरिएकाे हाे’, सापकोटाले भने- ‘सामुदायिक विद्यालयकी छात्रा नै छान्दा समाजमा सकारात्मक सन्देश जाओस् भन्ने चाहना हाे ।’
विशेषगरी साहित्यिक पुस्तकहरूको बिक्रीवितरणसँगै विमोचन, अन्तरक्रिया तथा छलफल कार्यक्रमहरू गर्दै आइरहेको सम्पूर्णले गरेकाे उदाहरणीय कामकाे उपस्थित सबैले प्रशंसा गरे । ‘हाम्रो स्थापना दिवस यसरी कहिल्यै मनाएका छैनाैँ’, चितवनको पुरानाे र प्रतिष्ठित पुस्तक व्यवसायी मास्के पुस्तक भण्डारकी सञ्चालक रजनी मास्केले भनिन्- ‘सम्पूर्णले हामीलाई पनि प्रेरणा दिएको छ ।’
स्थापना दिवस विशेष कार्यक्रममा जिल्लाका थुप्रै साहित्यिक स्रस्टाहरूको जमघट थियो । शुभकामना मन्तव्यका क्रममा सम्पूर्ण किताबले व्यापारसँगसँगै साहित्यिक किताबको प्रचारप्रसार, बिक्रीवितरण तथा स्रस्टाहरूलाई लेखनमा समेत प्रोत्साहन गरेको भन्दै स्रस्टाहरूले प्रसंशा गरेका थिए ।
कवि विनाेदीले साहित्यमा लाग्ने सबैका लागि सम्पूर्ण किताब एउटा चाैतारी भएकाे बताए । अर्का कवि एलबी क्षेत्रीले नारायणगढ आउँदा सम्पूर्ण नछिरी अन्त कतै जान मन नलाग्ने बताए । शिक्षासेवी प्रेम रिमालले सम्पूर्ण किताब साहित्य क्षेत्रकाे ‘आरन’ भएकाे बताए । सम्पूर्ण किताबका घरपट्टी नेत्र आचार्यले आफ्नै घरमा पुस्तक पसल हुँदा पढ्नलाई सजिलो भएको बताए । `पढ्नलाई रुचि पनि बढ्दै गएको छ, यहाँ आउने स्रस्टाहरूसँग भेटघाट पनि हुन पाएको छ । आफ्नै घरमा विद्वानहरू आउँदा घर पवित्र भएको लागेको छ ।´
कथाकार वसन्त पराजुली, साहित्यप्रेमी जाेन कँडेललगायतले पनि साहित्य लेख्ने र पढ्ने दुवैलाई सम्पूर्णले समेटेर अघि बढेकाे बताए । कवि होमनाथ घिमिरेले सम्पूर्ण किताबको योगदानको व्याख्या गरेर लेखिएको कविता वाचन गरेका थिए । विद्यालयका सहायक प्रधानाध्यापक बिजेन्द्रकुमार गोलेले सामुदायिक विद्यालयलाई छनोटमा पारेर छात्रालाई शैक्षिकसामग्री उपलब्ध गराउनु सम्पूर्ण किताबको असल विषेशता भएको बताए ।
स्थापना दिवसको अवसर पारेर सम्पूर्ण किताबले `दशैं तिहार पुस्तक मेला-२०८०´ पनि शनिबारबाटै सुरु गरेको छ । मेलामा नेपाली, अङ्ग्रेजी तथा हिन्दी साहित्यका पुस्तकहरू १० देखि ५० प्रतिशतसम्मको सहुलियतमा राखिएको सञ्चालक सापकोटाले बताए । स्थापना दिवस विषेश कार्यक्रमलाई लेखक, पत्रकार विनोदबाबु रिजालले सहजीकरण गरेका थिए ।