भरतपुर, २३ भदौ ।
नेपाली कांग्रेस चितवनको जिल्ला सम्मेलनमा सचिव ध्रुव पोखरेलले सांगठनिक समीक्षा सहित पार्टी सुदृढिकरणको प्रतिवेदन प्रस्तुत गरेका छन् । आगामी वर्षभरी गर्ने कार्ययोजना तयार गरी उनले अनुसुचीका रुपमा प्रतिवेदन प्रस्तुत गरेका हुन् । सुझावका लागि उनले सांगठनिक प्रतिवेदन जिल्ला सम्मेलनमा प्रस्तुत गरेका छन् । शनिवार भएको जिल्ला सम्मेलनमा सुझावको अपेक्षा सहित सांगठानिक प्रतिवेदन पेश गरेका थिए ।
सचिव पोखरेलले चितवन र नेपाली कांग्रेसको नेतृत्वकाबारे समीक्षा गरेका छन् । प्रतिवेदनमा पार्टी अधिवेशनमा देखिएको राप र ताप एवं त्यस लगत्तैको स्थानीय निर्वाचनमा गरिएको टिकट वितरण प्रक्रियाको असन्तुष्टी, सत्ता केन्द्रित चुनावी गठवन्धनले उतारचढाव गरेको उल्लेख गरेका छन् ।
उनले २५ बुँदे सांगठनिक प्रगति पेश गरेका हुन् । जिल्ला कार्यसमितिको २३ वटा, कार्यसम्पादन समितिको १७ वटा, संसदीय समितिको ३ वटा र पदाधिकारी सहित विभिन्न वैठक २० वटा गरी जम्मा ६३ वटा वैठक सम्पन्न भएको उल्लेख गरेका छन् । पार्टीले संचालन गरेको हरेक अभियानमा वडा तहसम्म प्रतिनिधि खटाइ जनताका आवाज सुन्ने वातावरण मिलाइएको बताएका छन् । प्रारम्भिक तथ्याङ्क अनुसार हालसम्म साबिकको २८२०० क्रियाशील सदस्य मध्ये १९००० भन्दा बढी क्रियाशील सदस्यहरुले सदस्यता नवीकरण गराएको उनले जानकारी गराएका छन् ।
पोखरेलले पेश गरेको निर्वाचनका विषयमा कुशासन, भ्रष्टाचार, मंहगी र बेरोजगारीका कारण नागरिकहरुमा व्यापक आक्रोश र अधैर्यता बढ्दै गएको बताइएको छ । राज्यले अंगिकार गरेका निर्वाचन प्रणाली प्रति जनतामा चरम असन्तुष्टि देखिएको बताउँदै प्रतिनिधिसभालाई प्रत्यक्ष निवार्चित सासंद र राष्ट्रिय सभामा समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत चुनिएका सांसदहरुको प्रतिनिधित्व गराउने, पार्टीको तर्फबाट उम्मेदवार छनोट गर्दा लोकप्रियताको स्थापितका आधारमा छनोट गर्ने, हरेक निकायमा हुने निर्वाचनमा पार्टीको संसदीय समितिको व्यवस्था गरी सम्बन्धित संसदीय समितिवाट नै कम्तिमा १ महिना अगाडि उम्मेदवारको सुनिश्चितता गर्ने प्रस्ताव गरेका छन् । सांसदहरुलाई विधायकको रुपमा मात्र समिति गरी मन्त्रीपरिषद् विज्ञताका आधारमा गठन गर्ने प्रतिवेदनमा उल्लेख छ । एक व्यक्ति, एक पद र एक पटकका लागि भन्ने सिद्धान्त अनुसरण गरी संसदीय प्रजातन्त्र र बहुदलीय प्रजातन्त्रको व्यवस्था र अभ्यासको माग गरेका छन् ।
जिल्ला सचिव पोखरेलले चुनावी गठबन्धनको असहज अवस्था आएको उल्लेख गरेका छन् । गठवन्धनबाट नेपाली कांग्रेसका सदस्यमा उत्साह नभएको बताउँदै निर्वाचन अघिको गठवन्धनको संस्कृतिलाई अन्त्य हुनुपर्ने उल्लेख छ । वातावरणीय प्रदुषण, अतिवृष्टि, अनावृष्टि, पृथ्वीको तापक्रम वृद्धि र विभिन्न प्राकृतिक प्रकोपका खतरालाई पनि उनले प्रस्तुत गर्दै सचेत गराएका छन् । हराभरा गाँउ सहर नीति अनुरुप क्रियाशील सदस्यको सक्रियतामा `एक घर एक वृक्षारोपण अभियान´ को प्रस्ताव गरेका छन् ।
कृषि र पर्यटनको विकास–समुन्नत चितवनको आधारमा केन्द्रित रहेर व्यवसायिक सुरक्षा, लगानी योग्य वातावरण र लगानी प्रवर्धनमा कृषक तथा व्यवसायीहरुसँग सघन छलफल र अन्तरक्रिया मार्फत समुन्नत चितवनको आधारशीला निर्माण गर्न समस्या समाधानमा लागिने बताए । बाँझो जमिनमा खेतीपाती गर्नलाई विशेष अभियान संचालन गर्ने प्रतिवेदनमा उल्लेख छ ।
कृषि र कृषि मैत्री नीति निर्माणमा स्थानीय तह मार्फत पार्टीको तर्फबाट विशेष भूमिका निर्वाह गर्ने जनप्रतिनिधि–नागरिक–पार्टी सम्बन्ध बढाएर जनताको दैनिक सरोकारका विषयहरुलाई सशक्त रुपमा उठाएर नागरिक प्रति विश्वास जगाउँदै हाम्रो पार्टीलाई जनताको सुख–दुुःखको सहयात्री बनाउने उल्लेख गरेका छन् । संगठन विस्तार–हाम्रो निरन्तर अभियान , जनप्रतिनिधि–नागरिक–पार्टीसम्बन्ध, शिक्षा र स्वास्थ्यमा सबैको पहुँच बनाउने योजना प्रस्तुत गरेका छन् ।
भातृ संस्थाहरुको जिल्ला मातहतका सम्पूर्ण अधिवेशन आगामी ६ महिना भित्र सम्पन्न गर्ने वातावरण तयार गर्ने र नियमित बैठक बसी संगठन चलायमान बनाउन सहजीकरण गर्ने, सामाजिक उत्तरदायित्व प्रति सचेत रहँदै सामाजिक सरोकारका विषयमा छलफल विचार विमर्श र निगरानी गर्ने, तहगत संरचनालाई सरल सक्षम र विश्वसनीय बनाउनका लागि विविध खाले तालिम आयोजना गर्ने र तहगत संरचनाको सिफारिसको आधारमा मनोनयन र नियुक्तिको व्यवस्था मिलाउने योजना पेश गरेका छन् ।
पोखरेलले पेश गरेको प्रतिवेदनमा शिक्षा र स्वास्थ्यमा सबैको पहुँच गुणस्तरीय आधारभूत शिक्षा र स्वास्थ्य सेवा नागरिकका मौलिक हक अन्तरगत `गुणस्तरीय शिक्षाका लागि खुशी शिक्षक´ सम्बन्धी स्थानीय ऐनकानुन निर्माण गरी कार्यान्वयनमा जोड दिएका छन् ।
सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि पार्टीका नेताहरु पनि भ्रष्टाचारको आरोपी छन् भने पार्टीले आन्तरिक छानविन गरी दोषी ठहर भएमा जिम्मेवारीबाट निलम्बन गर्ने नीति अख्तियार गरिने उल्लेख गरेका छन् ।