गैंडाकोट, २२ भदौ ।
लायन्स क्लब अफ चितवन वाङ्मयले लघुकथा वाचन कार्यक्रम गरी अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाएको छ । जिल्लामा पहिलोपटक लघुकथा वाचन कार्यक्रम भएको दाबी गर्दै सम्पन्न भएको कार्यक्रममा १ दर्जन भन्दा बढी कथाकारले लघुकथा वाचन गरेका थिए ।
त्रिवेणी साहित्य प्रतिष्ठानको सभाहल गैंडाकोटमा सम्पन्न कार्यक्रममा क्लबका सल्लाहकार एवं विशिष्ट अतिथि लायन गोविन्दराज विनोदीले लघुककथाको बारेमा भनाइ राख्दै `अपुरो भेट´ शीर्षकको कथा वाचन गरेका थिए । वाङ्मयका निवर्तमान अध्यक्ष लायन रामहरि श्रेष्ठ, पूर्व अध्यक्ष लायन रामहरि शर्मा शराह, कथाकार गोविन्द कोइराला, त्रिवेणी साहित्य प्रतिष्ठानका उपाध्यक्ष इन्द्रराज पौडेल, निर्दोष जीवन, विष्णु पन्थी, मनोहरी पौडेल, मीनाकुमारी खनाललगायतले पनि कथा वाचन गरेका थिए ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्टृक ३२५ आर एक्ज्युकेटिभ चिफ एमजेएफ लायन प्रभाकर पण्डितले अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा गरिएको कार्यक्रम अति नै प्रभावकारी भएको र आगामी दिनमा पनि क्लबले यस्ता कार्यक्रम गर्दै समाज रुपान्तरणमा महत्त्वपूर्ण भुमिका खेल्न सफल रहोस् भन्दै शुभकामना दिएका थिए । वाचन भएका लघुकथा प्राय: सन्देशमुलक तथा मनोरञ्जनात्मक भएको आयोजकले जनाएको छ । कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रीक्ट ३२५ आर का कोएक्ज्युकेटिभ एमजेएफ लायन बालगोपाल चुके, क्लष्टर चिफ एमजेएफ लायन पुरन थापा मगर, रिजन चियर पर्सन गोविन्द अर्याल, जोन चियर पर्सन लायन हरिप्रिया रिजाल, सल्लाहकार लायन कर्णेल धन बहादुर मास्की राना, सल्लाहकार लायन डाक्टर गोपीनाथ कँडेल, क्लबका उपाध्यक्ष लायन सुजन अधिकारी, समाजसेवी होमनाथ पौडेललगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष लायन लीला रानाले गरेकी थिइन् । कार्यक्रमलाई क्लवका सचिव लायन राजेन्द्र पौडेलले सहजीकरण गरेका थिए ।