भरतपुर, २१ भदौ ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरमा घुम्न लायक धेरै ठाँउहरु रहेको बताएकी छन् ।
भरतपुर ६ लक्ष्मी नारायण मन्दिर पसिरमा बिहीबारदेखि सञ्चालनमा आएको डुंगाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख दाहालले भरतपुरमा चितवन राष्ट्रिय निकुञ्ज, दुई ठुला नदी नारायणी र राप्ती रहेकाले पर्यटकीय गतिविधि धेरैभन्दा धेरै गर्न सकिने उल्लेख गरिन् । प्रमुख दाहालले चितवन राष्ट्रिय निकुञ्जमा जंगल सफारी तथा दुई नदीमा बोटिङ, र्याटिङ गर्न सकिने बताइन् ।
मौलाकाली केवलकार गैँडाकोटमा भए पनि यसको लाभ भरतपुरले लिइरहेको उनको भनाई छ । प्रमुख दाहालले भरतपुर भ्रमण वर्ष २०२४ मा ३ वटा विद्युतीय बस सञ्चालनमा ल्याइने जानकारी दिइन् । पवित्र तीर्थस्थल देवघाटधाम जानका लागि धार्मिक पर्यटकलाई लक्षित गरी ३ वटा बस सञ्चालनमा ल्याउने तयारी भइरहेको उनले बताइन् ।
भरतपुर २९ मा रहेको चौकीडाँडाबाट प्याराग्लाईडिङ हिउँदमा फेरि सञ्चालनमा आउने उनले बताइन् । ‘भरतपुर भ्रमण वर्षमा यहाँको विकास पनि देखाउनु पर्छ’, उनले भनिन्, ‘अहिलेको मुख्य काम भनेको हरियाली प्रवद्र्धन र सरसफाई नै हो । सबैले आफ्नो गाँउलाई हरियाली र सफा राख्ने काम आजबाट सुरु गर्नुपर्छ ।’
प्रमुख दाहालले हरियाली प्रर्वद्धनका लागि भरतपुर महानगरपालिकाले रु ४ करोड विनियोजन गरेकोले बनेको सडकमा सौन्दर्यकरण गर्न महानगरले बिरुवा उपलब्ध गराउने बताइन् । भरतपुर भ्रमण वर्षले अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुर्याउने उनको विश्वास छ । कार्यक्रममा भरतपुर ६ का वडा अध्यक्ष कृष्णलाल श्रेष्ठको उपस्थिति रहेको थियो ।