राप्ती, २१ भदौ ।
राप्ती नगरपालिका वडा नम्बर ४ मा रहेको काशीरुपा आधारभूत विद्यालयमा शान्तिपूजा लगाइने भएको छ । अज्ञात बिमारबाट विद्यार्थीहरु काँप्ने, रुने, चिच्याउने गर्न थालेपछि त्यसको निवारणको लागि शान्ति पुजा लगाइने भएको हो । यही भदौ २२ गते शुक्रबार विद्यालयको प्राङ्गणमा पूजा लगाइने छ ।
विद्यालयको १८ जना भन्दा बढी विद्यार्थीहरुमा यो समस्या देखा परिसकेको छ । गत भदौ ७ गतेबाट देखिएको यो समस्याको पहिचानको लागि काठमाडौंबाट परामर्श विदहरु पनि ल्याइएको थियो । तर समस्या झन् थपिन थालेपछि अभिभावकहरुको आग्रहमा पुजा लगाइने भएको हो । १२ देखि १५ वर्ष उमेर समुहका विद्यार्थीहरुमा यो समस्या देखिएको छ । जसमा २ जना छात्र पनि रहेका छन् ।
समस्या देखिएपछि नगरपालिकाले २ दिन विद्यालय बन्द गर्न निर्देशन दिएको थियो । विद्यालय खुलेपछि पनि विद्यार्थीहरुमा समस्या देखिन थालेको हो ।
विद्यालयमा भएको सो समस्याको बारेमा वडा कार्यालयले चासो देखाएको छ । राप्ती नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष केदार आचार्यले बिहीबार औपचारिक रुपमा विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा अभिभावकसँग छलफल गरेका छन् । आफू बाहिर भएकोले प्रतिनिधिहरु मार्फत समस्याबारे जानकारी लिइरहेको उनले बताए । शान्तिपूजामा लाग्ने सम्पूर्ण खर्च वडाले व्यहोर्ने पनि उनले बताएका छन् ।
स्कुल छिर्ने बित्तिकै विद्यार्थीहरु कराउन चिच्याउन थाल्ने भएपछि आफूहरु समस्याको खोजीमा रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम प्रसाद तिमल्सिनाले बताए । मनोविज्ञान परामर्शविदहरुबाट पनि समस्या समाधान नभएपछि अभिभावकहरुसँगको छलफलबाट पूजा लगाइने भएको उनले बताए । पूजामा सहभागी हुन सम्पूर्ण अभिभावकहरुमा उनले आग्रह गरेका छन् ।