गैंडाकोट, २१ भदौ ।
नेपाली नारीहरुको महान चाड हरितालिका तीजको अवसरमा रेडियो संकेत ९३ मेगाहर्जले यो वर्ष पनि बृहत तीज गीत प्रतियोगिता कार्यक्रम गर्ने भएको छ । नवलपुर जिल्लाभर बाटै सहभागिता आव्हान गर्दै भदौ २९ गते कार्यक्रमको आयोजना गर्न लागिएको हो ।
नेपाली कला, संस्कृतिलाई संरक्षण गर्दै वर्षौँदेखि गर्दै आएको प्रतियोगितालाई निरन्तरता दिँदै यस वर्ष पनि तीज गीत प्रतियोगिता २०८० कार्यक्रम गर्न लागिएको रेडियो संकेतका स्टेशन म्यानेजर सुजन अधिकारीले जानकारी दिए ।
राष्ट्रिय तथा स्थानीय कलाकारहरूको साथमा हुने प्रतियोगितामा प्रथम हुनेलाई १५ हजार , द्वितीयलाई १० हजार , तृतीय हुनेलाई ५ हजार र सान्त्वना ३ हजार नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ ।
राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने कार्यक्रममा नवलपुर जिल्लाका संघ, संस्था, कलेज, महिला समूहहरुले सहभागिता जनाउन सक्ने बताइएको छ । प्रतियोगिताको लागि विषयवस्तु खुला रहेको र प्रतियोगी समूहमा सात जनादेखि दस जनाको रहनुपर्ने बताइएको छ । प्रतियोगितामा सहभागी हुन ईच्छुक समूहले भदौ २८ गतेसम्म आफ्नो समूह दर्ता गरिसक्नुपर्ने कार्यक्रम सहआयोजक मनकामना आमा समूहकी अध्यक्ष बिष्णु अर्यालले जानकारी दिइन् ।