राप्ती, २० भदौ ।
राप्ती नगरपालिका वडा नम्बर ५ को मंगलटाँडी खेल मैदानमा सुरु भएको राप्ती कप अन्तर वडा स्तरीय फुटबल प्रतियोगितामा राप्ती-२ ले विजयी सुरुवात गरेको छ । राष्ट्रिय युवा संघ नेपाल राप्ती नगर कमिटीले आयोजना गरेको प्रतियोगिताको उद्घाटन खेलमा राप्ती-२ ले राप्ती-५ विरुद्ध जित निकालेको हो । यो जितसँगै राप्ती-२ क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
पहिलो हाफमा शशिल थापाको गोलमा राप्ती-२ ले १-० को अग्रता लिएको थियो । जवाफमा राप्ती-५ ले गोल फर्काउन सकेन । त्यो नै निर्णायक गोल बन्यो । खेलमा उत्कृष्ट प्रदर्शन गरेका राप्ती-५ का सुवास तामाङ म्यान अफ द म्याच घोषित भएका छन् । उनले एक हजार नगद पुरस्कार प्राप्त गरेका छन् । उनलाई राष्ट्रिय युवा संघ नेपाल बागमती प्रदेश सदस्य संजय श्रेष्ठले पुरस्कार प्रदान गरेका हुन् । अब भदौ २१ गते बिहीबार राप्ती-७ र ८ बीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
यस्तै प्रतियोगिताको बुधबार उद्घाटन भएको छ । बागमती प्रदेशका पूर्व मन्त्री एवम् सांसद जेएन थपलियाले प्रतियोगिताको उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै थपलियाले खेलाडीहरुलाई हौसला र साथ दिनुपर्ने बताए । खेलाडीहरुले पनि अनुशासित भएर सहभागिता जनाउनुपर्ने उनले बताएका छन् । कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष राम न्यौपाने, राप्ती-२ का वडा अध्यक्ष श्यामसुन्दर उप्रेती, राप्ती-५ का वडा अध्यक्ष सिताराम तामाङले मन्तव्य राखेका थिए ।
कार्यक्रममा पूर्व प्रदेश मन्त्री दावा लामा, विभिन्न वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, जनप्रतिनिधि, राष्ट्रिय युवा संघ नेपालका केन्द्र, प्रदेश तथा जिल्लाका पदाधिकारी लगायतको उपस्थिति थियो । सोम पुनको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको सञ्चालन सागर बलले गरेका थिए ।