भरतपुर, २० भदौ ।
सन् २०२२ को अनेवा पुरस्कार कथाकार तथा नियात्राकार गीता रेग्मीलाई प्रदान गरिने भएको छ ।
अन्तर्राष्ट्रिय नेपाली वाङ्मय प्रतिष्ठानको हालै सम्पन्न बैठकले ‘प्रशान्तको तीरैतीर’ पुस्तकका लागि रेग्मीलाई प्रदान गर्ने निर्णय गरेको हो ।
पुरस्कारको राशी ७५ हजार रुपैयाँ छ । पुरस्कार छनोट समितिमा प्रतिष्ठानका अध्यक्ष विकलचन्द्र आचार्य, गोपी सापकोटा र जया राई थिए ।
प्रतिष्ठानका अध्यक्ष आचार्यले सेप्टेम्बरमा लण्डनमा एक बिशेष समारोहबीच पुरस्कार प्रदान गरिने जनाए ।
कथाकार तथा नियात्राकार रेग्मीका ‘परिचय’, ‘पुस्तान्तर’, ‘ज्योतिका युगीन स्वरहरु’, ‘पश्चिमाहरुको देशमा’, ‘पत्थरैपत्थर’ कृतिहरु प्रकाशित छन् ।
प्रतिष्ठानको उक्त पुरस्कारबाट विगतमा अमर न्यौपाने, शान्ता चौधरी, कैलाश लिम्बुलाई सम्मान गरिएको थियो ।
सन् २०१२ मा स्थापित प्रतिष्ठानले नेपाली साहित्यकारलाई प्रोत्साहन र साहित्यको जगेर्नाका लागि लण्डनमा साहित्यिक गतिविधि गर्दै आएको छ ।