भरतपुर, १६ भदौ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सह-महामन्त्री अर्जुन नरसिंह केसीले नेपाली कांग्रेसका कार्यकर्ता बाँस जस्तो हुनुपर्ने बताएका छन् । केही नेता कार्यकर्ताहरुमा मन मुटाव रहेको कुरालाई इङ्गित गर्दै उनले जति माथि पुग्यो उति निहुरिनु पर्ने बताएका हुन् । एकतामा जोड दिँदै उनले भने – `हामी दुस्मन होइनौं प्रतिस्पर्धी हौँ । त्यसैले हामीमा झुक्ने बानीको विकास गर्नुपर्छ ।´
नेपाली कांग्रेस चितवन क्षेत्र नम्बर २ ले मंगलबार भरतपुर-३ नारायणगढमा आयोजना गरेको क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै केसीले लोकतन्त्र भनेको पद्धति मात्रै होइन प्रवृति पनि भएको बताए । त्यसैले लोकतन्त्रमा सबैको विचार मन्थन गरेर निचोड निकाल्नुपर्ने कुरालाई जोड दिए । `हिमालको खोँचमा बसुन् कि पहाडको कन्दरामा बसुन् या तराइका फाँटमा, सबै नेपालीको लोकतन्त्र एकै हो´, केसीले भने – `फरक विचार राख्नेलाई दुस्मन होइन प्रतिस्पर्धी ठानेर अगाडि बढ्नुपर्छ ।´ प्रतिस्पर्धीलाई सिध्याएर आफू ठूलो नहुने प्रष्ट पार्दै केसीले भने – `हामी अरुको घर भत्काएर आफ्नो घर अग्ल्याउने होइन । जगबाटै उचाइमा पुग्ने हो । त्यसकालागि सबैलाई मिलाएर लैजान झुक्न सिक्नुपर्छ ।´ निरन्तरको सतर्कता नै लोकतन्त्रको शक्ती भएको बताउँदै केसीले आफूले नेता होइन नीति र व्यक्ति होइन विचार हेर्ने गरेको प्रष्ट पारे ।
त्यस्तै केसीले पार्टीमा दाइभाउजु प्रवृत्ति हाबी भएको भन्दै त्यसले पार्टीलाई उँभो लाग्न नदिएको टिप्पणी गरे । `पार्टीका दाइभाउजुले भनिसके अब मान्नु पर्छ भनेर सत्यलाई बन्धकी राख्ने कार्यकर्ता वा नेता कायर वा दास हुन्, यिनीहरुबाट पार्टी उँभो लाग्दैन ।’ नेता केसीले भने । उनले सत्यलाई बन्धकी राख्नाले पार्टी क्षयीकरणको बाटोमा गएकोतर्फ इङ्गित गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेता केसीले पछिल्लो समय नेपालमा नेताहरुको प्रवृत्ति लोकतान्त्रिक नभएको र पार्टी भित्रको प्रवृत्तिले नै कांग्रेस कमजोर भएको स्पष्ट पारे । विचार लिएर अन्य जुनसुकै पार्टी आउन सक्ने भए पनि अरु पार्टी कमजोर भएर नेपाली कांग्रेस बलियो हुन नसक्ने बताए ।
पछिल्लो समय धार्मिक द्वन्द्व बढ्दै गएको बताउँदै त्यसलाई समयमै सरकारले समाधानको पहल गर्नुपर्नेमा जोड दिए ।
`हामीले बुझ्नु पर्छ जनप्रियतावादबाटै हिटलर जन्मेका हुन् तसर्थ यथार्थ र आदर्शबाट मात्रै देश चल्छ । बहुजातीय, बहुसांस्कृतिक र धार्मिक सहिष्णुता भएको देशमा धार्मिक द्वन्द्वको खतरा बढ्दै छ । त्यसलाई राज्यले समयमै समाधानको पहल लिनुपर्छ ।´ उनले भने ।
त्यसैगरी पछिल्ला चर्चित काण्डहरुसहित वाइडबडी यति ओम्नीसम्मका काण्डसम्म छानबिन गर्न सरकारले खुट्टा कमाउन नहुने बताए । साथै गाउँगाउँबाट भष्ट्राचारको विषयमा विरोध कार्यक्रम अगाडि बढाउँदै कांग्रेस अगाडी बढ्नुपर्छ नत्र भ्रष्टाचारीको रक्षक कांग्रेस भएको आरोप लाग्ने बताए ।
‘हामीले वाइडबडी, ३३ किलो सुन, यति ओम्नी, ६० किलो सुनदेखि विभिन्न काण्डहरुको पुरापुर छानबिन गर्न खुट्टा कमाउनु हुँदैन । गाउँगाउँबाट भ्रष्टाचारको विषयमा विरोध कार्यक्रम अगाडि बढाउँदै कांग्रेस अगाडि बढ्नुपर्छ नत्र भ्रष्टाचारको रक्षक कांग्रेस हो भन्ने छन् ।’ उनले भने ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले पार्टीलाई मजबुत र एकढिक्का बनाउन पार्टीको अनुशासनमा बसेर चरित्र सुधार्नुपर्ने बताए । पार्टीभित्र भएका असन्तुष्टीलाई पार्टी कार्यालयमा लिएर आउन अनुरोध गर्दै सभापति खनालले कांग्रेसको वर्तमान अवस्था र भावी रणनीति तय गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए। `काम गर्दै जाँदा ढङ्ग नपुग्न सक्छ, कहिँ कतै कमजोरी देखिन सक्छ । तर त्यसलाई छलफलबाट निराकरण गर्ने हो । चौतारीमा बसेर मादल बजाउने होइन । यो प्रवृत्तिले व्यक्ति होइन, संगठन सकिन्छ ।´ खनालले भने । खेद्ने परिपाटीबाट पार्टी बलियो नहुने खनालको तर्क थियो । उनले संगठनमा व्यक्ति विशेष कोहीसँग नजिक या कोहीसँग टाढा नहुने भन्दै जिल्ला सभापतिको हैसियतले सबैलाई समान रुपमा लिएर हिँड्ने प्रतिबद्धता पनि जाहेर गरे ।
त्यस्तै चितवन कांग्रेसका निवर्तमान सभापति जीतनारायण श्रेष्ठले चितवन क्षेत्र नम्बर २को चुनावमा कांग्रेसले पराजय भोग्नु परेको विषयलाई स्मरण गर्दै ऐलेको अप्ठ्यारो परिस्थितिमा जनता माझ रचनात्मक काम लिएर जानुपर्ने बताए । `कांग्रेस कांग्रेसको बीचमा टुटेको हार्दिकतालाई मिलाउनु पर्ने आवश्यकता छ ।´, श्रेष्ठले भने । उनले गन्तव्यमा पुग्नको लागि कांग्रेस बलियो बनाउने अभियानमा सबैजना जुट्नुपर्ने बताए । `यहाँ वनले नचिनेको बाघ पनि छैन, बाघले नचिनेको वन पनि छैन ।´, श्रेष्ठले भने ।
कार्यक्रममा केन्द्रीय सदस्य टेकप्रसाद गुरुङ, उमा रेग्मी, चितवन कांग्रेसका पूर्व सभापति विकास कोइराला, प्रदेश स्वास्थ्य मन्त्री उत्तम जोशी, भरतपुर महानगरका उपप्रमुख तथा कांग्रेस भरतपुर महानगर सभापति चित्रसेन अधिकारीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।