भरतपुर, १९ भदौ ।
ओम कार्की स्मृति साहित्य प्रतिष्ठानको आयोजना र आधुनिक नेपाली गजल अभियान बागमती प्रदेशको सहआयोजनामा मोती जयन्तीको अवसर पारेर भदौ २८ गते गजलसङ्ग्रह विमोचन तथा एकल गजल वाचन हुँदैछ ।
कार्यक्रम दुईवटा सत्रमा विभाजन गरिएको कार्यक्रमको सुरुमा चितवनका गजलकार सुमन कडरियाको गजलसङ्ग्रह `सुमन सुधा´ को गृह विमोचन हुनेछ । कडरियाले विगत केही वर्षदेखि गजल लेख्दै आएका छन् । `सुमन सुधा´ उनको पहिलो कृति हो । विमोचनपछि कृतिको समीक्षात्मक टिप्पणीसँगै उनको गजल वाचन रहने आयोजकले जनाएको छ ।
पहिलो सत्र सकिनासाथ दोस्रो सत्रमा सिन्धुलीकी गजलकार अमला अधिकारीले एकल गजलवाचन गर्नेछिन् । अधिकारी सामाजिक परिवेशलाई सर्लक्क उतारेर गजलमा प्रस्तुत गर्नसक्ने गजलकार हुन् । उनको वाचन सुनेपछि चितवनमा गजल लेखिरहेका नव पुस्तालाई गजल लेखन र वाचनका लागि प्रेरणा मिल्न सक्ने भएकाले यो कार्यक्रमको आयोजना गरिएको आयोजकको दाबी छ ।
ओम कार्की स्मृति साहित्य प्रतिष्ठानकी अध्यक्ष अम्बिका कार्की भन्छिन्- `सुमन कडरियाको सुमन सुधा पाठकको मनमा बस्न सफल होस्, हिजोआज गजलको परिभाषा अनुसार सिमित नरहेर परिमार्जन हुँदै आधुनिकतामा ढल्किएको छ । प्रेमका विषयवस्तु मात्र नभै देश, समाज र प्रकृति समेटेर लेख्न थालिएको छ । गजल प्रेमीहरूका लागि यो एकदम खुशीको कुरा हो ।´
कार्यक्रममा वरिष्ठ कवि तथा गजलकार गोविन्दराज विनोदीको प्रमुख आतिथ्यता रहनेछ । विनोदी गजल, कविता लेखनमा लागेका नवपुस्ताका लागि प्रेरणादायी व्यक्तित्व हुन् । कार्यक्रम २८ गते बिहीबार बिहान ११ बजे धावन पार्टी प्यालेस जागृतिचोकमा राखिएको छ ।