भरतपुर, १८ भदौ ।
एसिया कप क्रिकेटमा भारतले नेपाल विरुद्ध नयाँ लक्ष्य पाएको छ । समूह ‘ए’ को अन्तिम खेलमा नेपालले दिएको २ सय ३१ रनको लक्ष्य पछ्याएको भारतले १७ रन बनाउँदा वर्षाले लामो समय खेल रोकिएपछि पुन: सुरु हुन लागेको खेलमा नेपाल विरुद्ध भारतले २३ ओभरमा १ सय ४५ रनको नयाँ लक्ष्य पाएको हो ।
वर्षाका कारण २.१ ओभरमा खेल रोकिँदा भारतले १७ रन बनाएको छ । उसका ओपनरहरु रोहित शर्मा ७ बल खेल्दै ४ रन र शुभमन गिल ६ बल खेल्दै १२ रन बनाएर क्रिजमा छन् ।
अब ओभर घटेसँगै पाँच ओभरको पावर प्ले हुने छ । पहिलो पावर प्ले १ देखि ५ ओभर, दोस्रो ६ देखि १९ र तेस्रो २० देखि २३ ओभरसम्मको हुने छ । बलिङतर्फ नेपालका ३ बलरले पाँच ओभर गर्न सक्ने छन् भने २ बलरले ४ ओभर गर्न सक्ने छन् ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४८.२ ओभरमा २ सय ३० रन बनाउँदा अलआउट भएको थियो । भारत विरुद्ध सम्मानजनक स्कोर तयार गर्ने क्रममा नेपालका लागि आसिफ शेखले सर्वाधिक ५८ रन बनाउँदा सोमपाल कामीले ४८ रन तथा कुशल भुर्तेलले ३८ रन बनाए । त्यस्तै गुल्सन झाले २३ रन बनाए भने दिपेन्द्र सिहं ऐरीले २९ रनको स्कोर तयार गरेका थिए ।
भारतका लागि मोहम्मद सिराज र रविन्द्र जडेजाले समान ३-३ विकेट लिएका थिए । त्यस्तै मोहम्मद सामी, हार्दीक पाण्ड्या र सार्दुल ठाकुरले समान १-१ विकेट लिए ।