भरतपुर, १८ भदौ ।
कृषि तथा वन विज्ञान विश्वविद्यालय, निरन्तर शिक्षा केन्द्रको आयोजना तथा युएसएआइडी कृषि उच्च शिक्षा परियोजनाको सहयोगमा कौशी खेती तालिम शुरु गरिएको छ ।
भरतपुर महानगरका मुख्य सहरी क्षेत्रमा बसोबास गर्ने महिलाहरुलाई कौशी खेती सम्बन्धी आधारभूत प्राविधिक ज्ञान र सीप दिलाउने अभिप्रायले सो तालिम आयोजना गरिएको हो ।
दुई दिनसम्म सञ्चालन हुने तालिमको उद्घाटन गर्दै कृषि तथा वन विज्ञान विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. शारदा थपलियाले सिकाइलाई व्यवहारमा उतार्न सके सहभागी महिलाहरुको पारिवारीक स्वास्थ्य तथा पोषण र सहरी हरियालीमा सुधार ल्याउन महत्वपूर्ण भूमिका खेल्ने बताइन् । उनले तालिम दिएपछि कौशीको निरीक्षण पनि गरिने बताइन् ।
विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्राडा कल्याणी मिश्र त्रिपाठीले आफूले उपभोग गर्ने तरकारी बजारबाट किनेर खान सक्नु गौरवको विषय नरहेको बताइन् । ‘हामी बजारबाट तरकारी मात्र होइन, सँगसँगै विष पनि किनिरहेका हुन्छौँ, त्यसलाई कम गर्न पनि सहरी क्षेत्रमा कौशी खेतीको आवश्यकता छ,’ उनले भनिन् ।
कृषि संकायका डीन प्राडा अर्जुन कुमार श्रेष्ठ, पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान कृषि संकायका डीन प्राडा होमबहादुर बस्नेत, अनुसन्धान तथा प्रसार निर्देशनालयका निर्देशक डाक्टर ऋषिराम कट्टेल र युएसएआइडी कृषि उच्च शिक्षा परियोजनाका राष्ट्रिय व्यवस्थापक डाक्टर केशवप्रसाद प्रेमीले शहरी क्षेत्रमा कौशी खेतीको महत्व, कौशी खेती सम्बन्धमा विश्वस्तरमा विकास भएका अनुकरणीय पद्धति तथा प्रविधिहरुको विषयमा जानकारी गराएका थिए । उनीहरुले आगामी दिनमा यस सम्बन्धमा समुदाय र विश्वविद्यालय बीचको साझेदारी कायम रहनुपर्ने बताए ।
निरन्तर शिक्षा केन्द्रका निर्देशक तथा उक्त तालिमका संयोजक डा. निराजन भट्टराईका अनुसार तालिममा भरतपुर महानगरपालिका अन्तर्गतका नारायणगढ र भरतपुर क्षेत्रमा बसोबास गर्ने ३० जना गृहिणी महिलाहरुको सहभागिता रहेको छ । ‘तालिममा कौशी खेतीको परिचय, स्थान छनौट, नर्सरी व्यवस्थापनका समस्या र समाधान, माटो व्यवस्थापन, मल र विषादीको असर, प्राङ्गारिक मलका स्रोतहरु, माटो चढाउने, टेका र थाँक्रा दिने, गोडमेल छापो र मल्चिङ, काटछाँट, रोग कीरा व्यवस्थापन र आईपिएम विधि, बोकासी मल बनाउने विधि, घरेलु विषादी बनाउने विधि, इएम २ बनाउने विधि, पोलि ब्याग र प्रो ब्यागमा माटो राख्ने विधिलगायत विषयहरु बारे छलफल र सामुहिक अभ्यास गराइने छ,’ निर्देशक भट्टराईले भने । तालिम अवधिभर कौशी खेती, बाली बिरुवाको एकीकृत रोग किरा व्यवस्थापन, नर्सरी व्यवस्थापनलगायतका विषयमा लामो समय अनुभव संगालेका प्रशिक्षकहरु लेखनाथ पोख्रेल र तुलसा ज्ञवालीले सहजीकरण गर्ने भट्टराईले बताए ।