२००७ सालदेखि आजका मितिसम्म अनवरत एकैखाले असन्तुष्टि र विद्रोह लेख्नुपरेकामा लेखकहरू समस्यामा परेकाले समाजको लुकेको पक्ष उजागर गर्नेतर्फ कलम चलाउन लेखकलाई आग्रह गरे । यथार्थ छोडेर स्वैरकल्पना मात्रै लेख्न नसकिने उल्लेख गर्दै जीवनको यथार्थ लेखनको केन्द्र रहनुपर्नेमा जोड दिए ।
कृति समीक्षा गर्दै डा. ईश्वरमणि अधिकारीले सीमान्तकृत सन्थाल समुदायको भुइँमान्छेको कथा बोकेको उपन्यास सरल भाषामा सहज एवं मिठो भाषाशैलीसहित बुनिएको बताए । उनले सीमान्तकृत वर्गको आन्दोलनको पृष्ठभूमि उल्लेख गर्दै ‘जग्गा कसको जोत्नेको, घर कसको पोत्नेको’ भन्ने आन्दोलनबारे जानकारी नलिई यो उपन्यास पढ्दा त्यसले बुझाइ अपूर्ण हुने बताए ।
दिव्या कोइराला, विपी कोइराला, जगन्नाथ आचार्य, भीमदत्त पन्त लगायतले चलाएको भूमिसुधारको आन्दोलनको प्रभाव सन्थाल समुदायमा पर्न नसक्नु बिडम्वना भएकोमा आश्चर्य प्रकट गरे । सन्थाल जातिको सामाजिक, आर्थिक, सांस्कृतिक, मनोवैज्ञानिक पक्षको समग्र जीवनसंघर्षको गाथा नै आतोओडा भएको बताए । सन्थाल समुदायबाहेकका उपन्यासका अन्य पात्रले सन्थाललाई दुख दिने गरी मात्रै प्रस्तुत गरिएको बताउँदै मुख्य पात्र फूलमुनि सुरुमा हठी देखिए पनि परिस्थितिसँग सम्झौता गरेको देखाइएकोमा असन्तुष्टि व्यक्त गरे ।
पुस्तकमाथि बोल्दै परिचर्चाकार हसिना बस्नेतले झोडा फाँडेर बसेका सन्थालका पुर्खाले औलो र जंगली जनावरको आक्रमण सहेर सभ्यता निर्माण गरेका तर राज्यले तिनको अस्तित्वसमेत स्वीकार गर्न नसकेको यथार्थ उपन्यासले बोकेको सुनाइन् । सामाजिक यथार्थवादी धाराको उपन्यासमा फूलमुनि र बुधिनका माध्यमबाट सन्थाल समुदायको जीवनशैली प्रस्तुत गरेको बताइन् । राज्यका कर्मचारीले सन्थाल समुदायलाई हेपेको देखाएर तमाम सीमान्तकृत वर्गलाई राज्यले हेर्ने दृष्टिकोण गलत रहेको कुरा उल्लेख गरिएको सुनाइन् । आञ्चलिक भाषाको हरक उपन्यासमा पाइने र कथाको शैलीलाई अलिकति सनसनीपूर्ण र खोजमूलक बनाउँदा अझ सुन्दर हुनेतर्फ संकेत गरिन् ।
समालोचक डा. अशोक थापाले नागरिकता किनबेच हुने देशमा माटासँग सदियौंदेखि सम्बन्ध भएको सन्थाल जातिले नागरिकताबाट बञ्चित बनाइने देशको कथा उपन्यासमार्फत उठाएर उपन्यासकारले ऐतिहासिक महत्वको उपन्यास नेपाली साहित्यलाई दिएको जनाए ।
लेखक जानुका खतिवडाले आफूले शोधपत्रका लागि अध्ययन गर्न जाँदा सन्थालको जीवनबाट प्रभावित भएर उनीहरूको जीवनलाई लेखनमा ल्याउन आवश्यक भएको महसुस भएर त्यसलाई औपन्यासिक स्वरूप प्रदान गरेको बताइन् ।
पुछारसिटे अभियानले आयोजना गरेको कार्यक्रमको अध्यक्षता संस्थाका संयोजक सञ्जीव पौडेलले गरेका थिए । श्रीराम अधिकारी ‘गोर्जे’ ले सञ्चालन गरेको कार्यक्रममा सुरज उपाध्यायले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।