भदौ १७ आइतबार
आइतबार भरतपुरमा संयुक्त अनुगमन तथा मूल्यांकन कार्यक्रम सम्पन्न भएको छ । अटिजम केयर चितवन सोसाइटीले समावेशी शिक्षा परियोजना अन्तर्गत भरतपुर महानगरपालिकाभित्रका सामुदायिक विद्यालयहरुमा र समुदायमा सम्पन्न भएका तथा हुँदै गरेका कार्य तथा क्रियाकलापहरुको संयुक्त अनुगमन तथा मूल्यांकन कार्यक्रम गरेको हो ।
अनुगमनमा भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारीले घरमा आधारित शिक्षा प्राप्त गरेका बाल बालिकाहरुसँग घरमै पुगेर भेट गरी समावेशी शिक्षाले उनीहरुमा ल्याएको परिवर्तन, दिनचर्या, शिक्षाको पहुँच लगाएतका थुप्रै विषयहरुमा अन्तरक्रिया गरे । उपप्रमुख अधिकारीले श्रीपुर सुस्तमनस्थिति कल्याण विद्यालय र रातापुर आधारभूत विद्यालयमा पुगेर समावेशी शिक्षाको अवस्थाको बारेमा जानकारी लिए ।
अनुगमनमा नगर उपप्रमुख अधिकारीले अभिभावक तथा शिक्षकहरुसँग पनि छलफल गरे । अभिभावक तथा शिक्षकहरुसँगको छलफलमा उनले सिकाइको विश्वव्यापी ढाँचाको अभ्यास, विद्यालय सुधार योजना, घुम्ती शिक्षकको अनुभव, पहुँचयुक्त भौतिक संरचनाको अवलोकन, गुनासो सुनुवाई संयन्त्रको कार्यान्वयन, वैयक्तिक शैक्षिक योजना, शिक्षकहरुसँग संवाद, स्थानीय समावेशी शिक्षण सिकाई सामग्री र परियोजनाले हालसम्म गरेका क्रियाकलाप तथा कार्यप्रगतिहरुको बारेमा जानकारी लिएका छन् ।
अटिजम केयर चितवन सोसाइटीका परियोजना सयोजक सुमन पौडेलले भरतपुर महानगरपालिकामा ३८ जना बालबालिकाले घरमा आधारित शिक्षा लिइरहेको बताए । हाम्रो परियोजनाले घरमा आधारित शिक्षाको शुरूवात गरेदेखि अपांगता भएका एवं थप सिकाई आवश्यकता भएका बालबालिकाको गुणस्तरीय शिक्षामा पहुँच अभिवृद्धि गराउन ठूलो सहयोग पुगेको प्रष्ट पारे ।
अटिजम केयर चितवन सोसाइटीले हाल ६ जना घुम्ती शिक्षकहरु मार्फत घर घरमा गएर घरमा आधारित शिक्षा प्रदान गर्दै आइरहेको छ । भरतपुर महानगरपालिकामा ३ हजारभन्दा बढी अपांगता भएका व्यक्तिहरु रहेका छन् भने २ हजारभन्दा बढी व्यक्तिहरुले अपांगता परिचयपत्र प्राप्त गरिसकेको भरतपुर महानगरपालिकाले जनाएको छ ।
‘घरमा आधारित शिक्षा लागू भएपछि अपांगता भएका बालबालिकाहरुमा सकारात्मक सोचको बिजारोपण भएको पाइएको छ’ घुम्ती शिक्षक निशा नेपालीले भनिन्, ‘उनीहरुमा शैक्षिक तथा व्यावहारिक सुधार भएको पाइयो । परियोजनाले घरघरमा पुगेर घुम्ती शिक्षकमार्फत शिक्षा प्रदान गराउँदा पहिलेको तुलनामा ४५ प्रतिशत सुधार आएको नेपालीको तर्क छ ।
समावेशी शिक्षा परियोजनाको उद्देश्य सबै बालबालिकाको सिकाईमा समान अधिकार र अवसरको प्रत्याभूति गर्नु हो । परियोजनाले ४ देखि १७ वर्ष उमेर समूहका अपांगता भएका तथा कार्यगत सीमितता भएका विद्यालयभित्र र बाहिर रहेका बालबालिकाहरुलाई लक्षित वर्गको रुपमा राख्दै आएको छ । परियोजनाको कार्यक्षेत्र भरतपुर महानगरपालिका र कालिका नगरपालिका रहेको छ ।
भरतपुर महानगरपालिकामा १ सय १२ वटा सामुदायिक विद्यालय र कालिका नगरपालिकामा ३५ वटा गरी जम्मा १ सय ४७ वटा विद्यालयमा परियोजना लागू भएको छ । यो परियोजनाबाट ३५ हजार बालबालिकाहरु प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् भने भरतपुर महानगरपालिकामा झन्डै दस वटा सामुदायिक विद्यालयमा समावेशी शिक्षा लागू भएको छ ।
अनुगमनमा उपप्रमुख अधिकारीसहित भरतपुर १० का अध्यक्ष परमेश्वर खनाल, नगर शिक्षा अधिकारी महेन्द्र पौडेल, वरिष्ठ महिला विकास अधिकृतहरु सुशीला वाग्ले र कलावती ओझा, अधिकृतस्तर छैटौं पञ्चमाया तामाङ, सूर्य तिवारी, बौद्धिक अपांगता अभिभावक महासंघ चितवनका अध्यक्ष निर्मलकुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियोे ।
परियोजनालाई ह्यान्डिक्याप इन्टरनेशनल र सेन्स इन्टरनेशनले साझेदारी संस्थाहरुको रुपमा काम गर्दै आइरहेका छन् भने अटिजम केयर चितवन सोसाइटी, राष्ट्रिय बहिरा संघ नेपाल र कमिटेडले कार्यक्रम कार्यान्वयन गर्दै आएका छन् । परियोजनाको अवधि तीन वर्ष अर्थात जनवरी २०२२ देखि डिसेम्बर २०२४ सम्म रहेको छ ।