भरतपुर, १६ भदौ
नेपाली काङ्ग्रेसका प्रमुख सचेतक तथा केन्द्रीय सदस्य रमेश लेखकले नेपाली काङ्ग्रेस कालजयी पार्टी भएको बताएका छन् । `मुलुकको व्यवस्था बदलेर पनि देशमा सबैभन्दा ठुलो पार्टी रहिरहन्छ भने त्यो कालजयी पार्टी हुन्छ । नेपाली काङ्ग्रेस त्यस्तै पार्टी हो´, लेखकले भने ।
नेपाली काङ्ग्रेस चितवन क्षेत्र नम्बर ३ ले शनिबार भरतपुर-१९ शारदानगरमा आयोजना गरेको क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै लेखकले हिजो संवैधानिक राजतन्त्रको धारणालाई बोकेर संविधान निर्माण गर्दा पनि काङ्ग्रेस देशको सबैभन्दा ठूलो पार्टी रहेको स्मरण गरे । `आज त्यसको विपरीत गणतान्त्रिक व्यवस्थाको संविधान निर्माण पछि पनि संघीय संसदमा सबैभन्दा ठूलो पार्टी नेपाली काङ्ग्रेस नै छ । यसरी देशको शासन व्यवस्था नै बदलेर आउँदा पनि देशको प्रमुख पार्टी हुनु भनेको कालजयी पार्टी हुनु हो´, लेखकले दाबी गरे ।
पार्टी भित्र विभिन्न गुट उपगुट बनाएर पार्टीभित्रै अन्तरघात भएको विषयलाई व्यङ्य कस्दै लेखकले भने, `मैदान रह्यो भने खेल खेल्न सकिन्छ तर मैदानै भत्काइयो भने खेल खेल्न सकिन्न । पार्टी भित्रको आन्तरिक प्रतिस्पर्धामा लड्न पाइन्छ तर जब प्रतिस्पर्धा पार्टीभन्दा बाहिर जान्छ त्यहाँ, हामी भित्र भएको आपसी मनमुटावलाई भुलेर एकढिक्का भएर लागे मात्रै पार्टी बलियो हुनेछ ।´
कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनालले पार्टीलाई बलियो र एकढिक्का बनाउन सबै एक भएर लाग्नुपर्ने बताए । पार्टीभित्र भएका असन्तुष्टीलाई पार्टी कार्यालयमा लिएर आउन अनुरोध गर्दै सभा सम्मेलनमा कार्यसमितिलाई आक्रमण गरेर संगठन बलियो हुन नसक्ने उनको तर्क थियो । `करीब ७५ वर्षको लामो इतिहास बोकेको नेपाली काङ्ग्रेसले जनतासँग जे माग्यो त्यो नेपाली काङ्ग्रेसलाई दिएको छ । तर जति कुरा जनताले मागे त्यति नेपाली काङ्ग्रेसले जनतालाई दिन सकेको छैन´ खनालले भने । खनालले काङ्ग्रेसले जनतालाई सुशासन दिन नसकेको कुरालाई इङ्गित गरेका थिए । तर यसलाई कसरी सच्याएर जान सकिन्छ त्यता ध्यान दिनुपर्ने भन्दै काङ्ग्रेसलाई आक्रमण गरेर संगठन बलियो नहुने उनको तर्क थियो । खनालले ऐलेको व्यवस्था र पद्धतिलाई जोगाउनको लागि काङ्रेसको आवश्यकता रहेको औंल्याए ।
त्यस्तै चितवन काङ्ग्रेसका निवर्तमान सभापति जीतनारायण श्रेष्ठले पार्टीभित्रै अन्तरघात गर्ने नेता कार्यकर्ताको कारवाही केन्द्रीय अनुशासन समितिले फुकुवा गरेको प्रति तीव्र आलोचना गरे । “पार्टीका उमेद्वारलाई सक्रिय सहयोग गरेमा कारवाहीमा परेका सदस्यहरुको कारवाही फुकुवा गर्ने परिपत्र त केन्द्रले गर्यो। तर क-कस्ले सक्रिय सहयोग गरे, क-कसले गरेनन्? एकपटक उमेद्वारलाई सोध्नु पर्छ कि पर्दैन?” श्रेष्ठले केन्द्रीय सदस्य रमेश लेखकलाई प्रतिप्रश्न गरे। आफ्नो आग्रह पूर्वाग्रह कसैप्रती नभएको प्रष्ट पार्दै पार्टीभित्र विधि र विधान भन्दा माथि कोहि नभएको समेत प्रष्ट पारे । श्रेष्ठले पार्टीका साथीहरुमा अनुपम सम्बन्ध नभएको कुरालाई प्रष्ट पार्दै नेता तथा कार्यकर्ताको चिन्तन पार्टी बलियो बनाउनेमा भन्दा पनि १५ औँ महाधिवेसनमा कसरी पार्टी कब्जा गर्ने भन्नेमा रहेको आरोप लगाए ।
त्यस्तै कार्यक्रममा बोल्दै प्रदेश सभाका सदस्य तथा स्वास्थ्य मन्त्री उत्तम जोशीले क्षेत्रीय सम्मेलनले काङ्ग्रेस नयाँ जोश र जाँगरका साथ अगाडि बढ्ने तर्क राखे । काङ्ग्रेस विपि कोइरालाको विचारमा दृढ रहेको भन्दै जोशीले अब काङ्ग्रेस यौटै विचार र सिद्धान्तमा विचलन नहुने बताए । तर काङ्ग्रेसलाई अझै फराकिलो बनाउन काङ्ग्रेसभित्र रुपान्तरण र पुस्तान्तरण आवश्यक रहेको औंल्याए ।
कार्यक्रममा केन्द्रीय सदस्य टेकप्रसाद गुरुङ, चितवन काङ्ग्रेसका पूर्व सभापतिद्वय विकाश कोइराला र तोपमान सिं गुरुङ, नेपाल तरुण दलका केन्द्रीय सदस्य दीपक अधिकारी, भरतपुर महानगरका उपप्रमुख तथा काङ्ग्रेस भरतपुर महानगर सभापति चित्रसेन अधिकारीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।