ओल्गा कार्मोनाको निर्णायक गोलमा स्पेनले फिफा महिला विश्वकप २०२३ को उपाधि जितेको छ ।
आइतबार सिड्नीमा भएको उपाधि भिडन्तमा इंग्ल्यान्डलाई १-० गोलले पराजित गर्दै स्पेनले पहिलोपटक उपाधि जितेर इतिहास रच्न सफल भयो ।
२९ मिनेटमा कार्मोनाले उत्कृष्ट फिनिसिङ गर्दा स्पेनले अग्रता लिएको थियो । कार्मोनाले यसअघि सेमिफाइनलमा पनि स्विडेनविरुद्ध निर्णायक गोल गर्दा स्पेन फाइनल पुगेको थियो ।
त्यसअघि खेलको १६ मिनेटमा इंग्ल्यान्डले अग्रता लिने अवसर गुमाएको थियो । हेल्पको प्रहार क्रसबारमा लागेको थियो ।
६४ मिनेटमा स्पेनले अग्रता दोब्बर पार्ने अवसर गुमाएको थियो । इंग्ल्यान्डकी वाल्सको हातले बल छोएपछि स्पेनलाई पेनाल्टी दिइएको थियो ।
स्पेनका लागि पेनाल्टी हानेकी जेनिफर हर्मोसोको प्रहारलाई इंग्ल्यान्डकी गोलकिपर मेरी इर्प्सले विफल पारिदिएकी थिइन् ।
स्पेन महिला विश्वकपको उपाधि जित्ने पाँचौ टिम बन्न सफल भयो ।
यसअघि अमेरिकाले चार पटक, जर्मनीले दुई पटक तथा नर्वे र जापानले एकएक पटक फिफा महिला विश्वकपको उपाधि जितेका थिए ।
इंग्ल्यान्डले सन् २०१५ मा तेस्रो स्थान हात पार्दा स्पेनले भने पहिलो पटक पदक पक्का गरेको हो ।