भरतपुर, २७ जेठ ।
नारायणगढमा पानी माग्दै पूजा गरिने भएको छ । लामो समयदेखि पानी नपर्दा जनजीवन कष्टकर बन्दै गएपछि आइतबार वर्षाको माग गर्दै पूजा गर्न लागिएको हो ।
आइतबार दिउँसो ४ बजे गौरेश्वर पशुपति मन्दिरबाट नारायणगढमा महादेवसँग पानी देउ अनुरोध पूजा गरिनेछ । त्यसपछि अपरान्ह ४ः३० बजे ‘हरहर महादेव पानी देउ देउ र्याली’ गरिनेछ ।
नेपालीहरुको जनविश्वास र धार्मिक परम्पराको संरक्षण गर्दै अत्याधिक गर्मीका कारण सम्पूर्ण सजीव प्राणिले भोगिरहेको जलको समस्या समाधानका लागि भगवानसँग पुकार गरिने आयोजक नारायणगढका युवाहरुले जनाएका छन् ।
आयोजक युवाहरुले पानीको पुकार गर्दै निस्कने र्यालीको समयमा घर अगाडि पानी छर्किन स्थानीयलाई आग्रह गरेका छन् । यस अघि पनि पानी माग्दै देउताको पूजा आराधाना गर्ने गरिथ्यो । यसो गर्दा वर्षा हुने जनविश्वास छ ।