पोखरामा जन्मेका अशोक थापा पेसाले प्राध्यापक हुन् । त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभागमा नेपाली साहित्य पढाउने थापाले हालै ‘सन्तापको धून’ कथासंग्रह निकालेका छन् । त्यसले उनलाई विश्वविद्यालयको कक्षाबाट एकाएक साहित्य वृत्तमा उभ्यायो । त्यसो त उनी साहित्यको खरो टिप्पणी गर्न रुचाउने समीक्षक पनि हुन् । साहित्यमा विद्यावारिधि गरेर डाक्टर बनिसकेका थापाको लेखाइमा आञ्चलिकता र सामाजिक यथार्थका सुन्दर झिल्काहरू देख्न सकिन्छ ।
कथाकार थापा एक हप्तादेखि चितवनमा छन् । विश्वविद्यालयको काम र साहित्यिक भेटघाटको उद्देश्य लिएर चितवन झरेका थापा यहाँ हुने साहित्यिक कार्यक्रममा बाक्लै भेटिने गरेका छन् । यसै सन्दर्भमा थापाको कथासंग्रह सन्तापको धून र समग्र कथासाहित्यको सेरोफेरोमा रहेर कायाकैरन डट कमले गरेको कुराकानी :
कथा के हो ?
कति ठूलो प्रश्न । कथा के हो ? यो त मैले नसोची भन्न सक्दिन होला । कथा जिन्दगी हो । जिन्दगीको कलात्मक प्रकटीकरण हो । फरक यति छ कथालाई कल्पना र शिल्पले सिँगार्न सकिन्छ, जीवनलाई सिँगार्न समय कम हुन्छ । हामी सबैको जिन्दगी एउटा कथा हो ।
कस्तो कथा राम्रो हुन्छ ?
मनमुटुमा छाप छोड्न सक्ने जुनसुकै कथा राम्रो हुन्छ । यसमा समय, पाठक, प्रयोजनले भूमिका निर्वाह गर्छ । युवा उमेरका तन्नेरीहरूलाई बढी प्रेमकथा मनपर्छ । अलि उमेर पुगेका प्राध्यापकलाई विचार–दर्शनयुक्त कहानी मनपर्छ । कथाले आम मान्छेसँग संवाद गर्ने ल्याकत राख्नुपर्छ । सडकका मान्छे, मजदुरको पसिनाको गन्ध कहानीमा आयो भने त्यो धेरै टिकाउ हुन्छ । आजसम्म गुरुप्रसाद मैनाली, रमेश विकल, नारायण ढकाल, नयनराज पाण्डे, अमर न्यौपानेहरू किन टिके भने उनीहरूले आममान्छका कहानी लेखे ।
देखिएका सबै घटना कथा बन्छन् ?
बन्दैनन् । घटनाले जब लेखकलाई घोच्छ, सङ्क्रमित बनाउँछ अनि कथाको बिज अङ्कुराउन थाल्छ । बिज अङ्कुराएपछि पनि कथा भन्ने तरिका र शिल्प वा क्राफ्टिङले कथालाई बुनेपछि मात्र ती घटना दूधबाट दही बन्छ अनि नौनी घिउ बने जस्तै हुन्छ । जहिले पनि दूध र दहीको तुलनामा घिउ कम हुन्छ । घटना धेरै हुन्छन् तर कथा बन्न लायक घटना थोरै हुन्छन् ।
आज हामीले कस्तो लेखिरहेका छौँ ?
हामीले औसत प्रकृतिका कथा लेखिरहेका छौँ । विषयको गहनता र शिल्पकारिताको सन्तुलन भइरहेको देख्दिन । प्रोफेसनल व्यक्तिहरू प्रिन्टिङ लाइनमा कम छन् । घोस्ट राइटिङ गर्नेहरूले ढंग पुर्याएका छैनन् । जोजो मान्छे छद्म लेखनमा लागेका छन् तिनीहरूले राम्रो लेख्न सके त आफैँ लेख्थे नि । हामीले गहन अनुसन्धान गरेर, अहिले पाठकले मन पराउने प्रविधिको प्रयोग गरेर कथा लेख्न सकेका छैनौं । उही पुरानो ढाँचाबाट कथा बुनिरहेका छौँ जुन ८ दशक अघि नै प्रयोग भइसकेको थियो ।
कथाको निर्मिति (कोरियोग्राफी) कस्तो हुन्छ ?
कथाको निर्मिति घर बनाए जस्तै छ । घर आधुनिक, परम्परागत कस्तो विषय झल्काउने भन्ने कुरा मुख्य हुन्छ । कस्तो आकारको बनाउने, सीमित बजेटमा अधिक संरचना कसरी बनाउने, पूजाकोठा कता राख्ने विषयमा जसरी श्रीमान श्रीमतीका बीचमा विवाद हुन्छ त्यो कथाको लागि द्वन्द्व हो । घरको संरचना बनिसकेपछि कस्तो रङ लगाउने भन्ने कथाको शिल्प र क्राफ्टिङ पक्ष हो । जतिसुकै सुन्दर घर बनाए पनि भद्दा रङ पोत्यो भने घरको लुक्स खराब देखिएजस्तै सही भाषिक, प्रस्तुतिगत सीप मिलाउन नसक्दा कथा असुन्दर बन्छ । कथाको निर्मिति सचेत र योजनाबद्ध रहने गर्छ ।
सन्तापको धून कस्तो कथासंग्रह हो ?
मेरो कृतिको बारेमा मैले भन्न सक्दिन । कम्तिमा भन्न सक्छु यो गम्भीर र संवेदनशील कथा सँगालो हो । दार्शनिक कथाको सँगालो हो । कुनै पनि कथाको अन्त्य अड्कल गर्न नसकिने कौतुहल सिर्जना गर्ने कथा हो ।
समालोचना, नाटक विधामा सक्रिय हुँदाहुँदै कथा लेखनमा किन आकर्षित हुनु भो ?
सजिलै, मन खलाँस हुने गरी भन्न सकिने विधा कथा जत्तिको अनुकूल अर्काे केही छैन संसारमा । त्यस्तै लाग्यो । म साहित्य बिट भन्दा पर गएको छैन । साहित्यको बारीमा कहिले करेला रोप्नु र कहिले लौका रोप्नु खास नयाँ कुरा होइन । जहाँसम्म कथाप्रतिको आकर्षणको कुरा छ, यो विधातिर मेरो व्यक्तिगत झुकाव पनि छ ।
हिजोआजका राम्रा नेपाली कथाकारहरूको नाम लिनु पर्यो भने कसलाई सम्झिनुहुन्छ ?
महेश थापा (मरिचिका), उपेन्द्र सुब्बा (लाटो पहाड), बिना थिङ (याम्बुनेर), एलबी क्षेत्री (व्रतभंग), रोशन थापा ‘निरव’ (कोष्ठकभित्रको हाँसो), महेश पौड्याल (अपरिचित अनुहार), अमर न्यौपाने (पानीको घाम), दुर्गा कार्की (कुमारी प्रश्नहरू) आदि ।