विप्लव काफ्ले/कायाकैरन
भरतपुर, २६ कात्तिक ।
चितवनमा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले चुनावी प्रचारप्रसारमा प्रायः भरतपुर महानगर काण्ड बिर्सदैनन् । हरेक चुनावी सभामा उनीहरु यही विषय उठाइरहन्छन् ।
स्थानीय तहको चुनावमा भरतपुर महानगरमा माओवादी केन्द्र र नेपाली कांग्रेसले मेयर र उपमेयर पदमा तालमेल गरी सँगै चुनाव लडेका थिए । भरतपुर–१९ को मतगणनाको क्रममा मतपत्र च्यातिएपछि सो वडामा पुनः मतदान भई मेयर पदमा माओवादी केन्द्रका नेता रेनु दाहालले चुनाव जितेकी थिइन् । उनले एमाले उम्मेदवार देवी ज्ञवालीलाई २ सय ३ मतले पराजित गरेकी थिइन् । सो घटनालाई तत्कालीन अवस्थामा एमालेबाट निर्वाचित वडाध्यक्ष तथा सदस्यहरुले ‘मतपत्र च्यातेर बनेका मेयर’ भन्दै सँगै सपथ नखाने भन्दै विरोध जनाएको थियो । मतपत्र च्यातिएको घटनाविरुद्ध एमालेले देशव्यापीरुपम चर्चा गर्दै आएको थियो । अन्ततः यो विषय एमालेले आसन्न चुनावमा भुलेको छ ।
मेयर पदमा उम्मेदवारीको टिकट पाएर मनोनयन दर्ता गरेको भोलिपल्टै उम्मेदवारी फिर्ता गराउन बाध्य कांग्रेस नेता दिनेश कोइराला चितवन ३ (क) बाट प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । नेपाल महिला संघ चितवनले भरतपुरमा आयोजना गरेको बृहत चुनाव प्रचारप्रसार अभियानमा कोइरालाले ‘प्रचण्ड’ को आश्वासनलाई सम्झिए । “हिजोको तालमेल नेताको सौखको विषय थियो, त्यसको म ‘भिक्टिम’ बनेँ, यहिँ नजिक १ सय मिटर उता प्रचण्डले मलाई अनेक कुरा भन्दै सम्झाउनुभएको थियो”, केन्द्रीय बस टर्मिनलमा भएको बृहत चुनावी सभाको घटना सम्झदै उनले भने, “कांग्रेस माओवादीको सहकार्य १० वर्ष टिक्छ, यो समृद्धिका लागि हो, तर छोरी मेयर बनाउन पो रहेछ त !”
त्यो बेलाको कांग्रेस–माओवादी गठबन्धन यसपालिको चुनावमा भत्केको छ । “झापामा लिङ्देनलाई वामगठबन्धनले लिएको छ, स्थानीय चुनावमा काठ्माण्डौ, पोखरामा पनि एमालेले राप्रपाको समर्थन लिएकै थियो”, उनले भने, “आँफुले तालमेल गर्दा पवित्र अरुले गर्दा अपवित्र भनेर भ्रम फैलाउन हुँदैन, जनताले बुझिसकेका छन् ।” चितवन ३ (ख) का उम्मेदवार साजनकुमार महतोले लोकतान्त्रिक शक्तिलाई हराउन कसैले अब झुक्याउन नसक्ने बताए । “रोल्पा, सिराहा हुँदै चितवन आइपुगेका छन्”, उनले भने, “जनताको मन जित्न सक्नुपर्छ, फेरी महानगरको जस्तो गरी कांग्रेसलाई माओवादीलाई कुनै हालतमा सहयोग गर्ने छैन ।”
कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले महानगरमा माओवादी केन्द्रलाई समर्थन गर्नु ठुलो भूल भएको अनुभव सुनाए । “रेनुलाई जिताउन म पनि कमाण्डर बनेर हिँडे, असहयोग गर्ने पार्टी सदस्यलाई साधरण सदस्यसमेत कारवाही गर्छु भन्दै बोल्दै पनि हिँडे”, उनले भने, “जिताइयो, तर घाटा बेहोर्नुप¥यो, अब प्रचण्डलाई हराएर एक–एक हिसाव चुक्ता गर्नुपर्छ ।” उनले गठबन्धनलाई धोका दिने नेतालाई कुनैपनि हालतमा समर्थन सहयोग नगरिने बताए । उनले ‘प्रचण्ड’ लाई हराउनकै कालागि पाण्डेलाई उठाइएको बताए । कांग्रेस चितवनका सचिव उत्तम जोशीले ‘ललिपप’, छलकपटि गर्ने राजनीतिका नायक वाम नेतालाई विश्वास नगर्न अनुरोध गरे । उनले ‘कम्युनिष्ट’ शासनले व्यक्ति मात्रै बलियो बनाउने नीति भएको आरोप लगाए ।
पूर्वसांसद् विष्णुमाया परियारले महानगर घटनाले सँधै पिरोलिरहेको बताइन् । “सँगै हिँडियो, तर ठुलो घात भयो”, उनले भनिन्, “यति छिटै गुन विसैलान् भन्ने थिएन, फेरी बोलीको भर नभएको बाम गठबन्धनलाई विश्वास गर्नेछैनन् , लोकतान्त्रिक गठबन्धनलाई जिताउँनेछन् ।” उनले भनिन्, “पैसामा भोट नेबच्न्स्, चुनाव क्षेत्र छोड्दै सर्दै चितवन झरेका नेतालाई फेरी रोल्पानै फर्काउनुपर्छ ।”
राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष तथा वन तथा भूसंरक्षण मन्त्री विक्रम पाण्डेले अहिलेको लोकतान्त्रिक गठबन्धन प्राकृतिक भएको बताए । “कांग्रेसको चुनाव चिन्ह रुख, त्यही रुखबाट बनेको हलो चुनाव चिन्ह हाम्रो छ”, उनले भने, “गोत्र, व्लड ग्रुप एउटै भएजस्तो छ, कांग्रेसीले जय नेपाल भन्छन्, हामी जय राष्ट्रवाद, आखिर दुबैको अर्थ एउटै हो ।” उनले लोकतान्त्रिक शक्तिलाई बलियो बनाउनकै लागि कांग्रेस समर्थनमा आँफु उम्मेदवार बनेको बताए ।
पाण्डे ३ नम्बर क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन् । “३ नम्बर क्षेत्रमा ५ वर्षभित्र धुलाम्मे बाटोमा हिँड्ने अवस्था हुँदैन, सबै सडक कालोपत्रे हुन्छ, अत्याधुनिक पार्क बन्नेछ”, उनले भने, “परिवारवादलाई अंगाल्ने कम्युनिष्ट शासन विरुद्ध लाग्नुपर्छ ।” सो अवसरमा मंसीर २१ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुले विजयी गराउनका लागि महिलाहरुलाई सक्रिय सहभागिता जनाउँन अनुरोध गरेको छ । नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष उमा रेग्मीले हरेक आन्दोलनमा महिला सक्रियता महत्वपूर्ण भएको बताउँदै लोकतान्त्रिक शक्तिलाई जिताउन अनुरोध गरिन् ।
हिसाब चुक्ता गर्ने’ मुडमा लोकतान्त्रिक गठबन्धन
हिसाब चुक्ता गर्ने’ मुडमा लोकतान्त्रिक गठबन्धन
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस