भरतपुर, ११ वैशाख ।
चितवन- २ मा आइतबार भएको उपनिर्वाचनको ताजा मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता बढाएका छन् । ताजा परिणाम अनुसार घण्टी चिह्नलाई ११५५ मत प्राप्त भएको छ । लामिछानेलाई पछ्याउँदै नेकपा एमालेका रामप्रसाद न्यौपानेले ६६५ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका जितनारायण श्रेष्ठलाई ५८८ मत प्राप्त भएको छ । यो मतपरिणाम इच्छाकामना गाउँपालिका वडा नम्बर १ र ५ को हो ।
आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना चितवन उद्योग संघ भरतपुरको हलमा चलिरहेको छ ।
चितवन–२ मा कांग्रेसका जितनारायण श्रेष्ठ, एमालेका रामप्रसाद न्यौपाने, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका जीवलाल पुरीसहित २२ उम्मेदवार छन् ।
यस क्षेत्रमा ४३ स्थलका एक सय ३८ केन्द्रमा मतदान गरिएको हो । यसमा ७८ हजार दुई सय ७७ मतदाताले मतदान गरेको प्रारम्भिक तथ्यांक रहेको छ । यस क्षेत्रमा एक लाख २४ हजार छ सय ९५ जना मतदाता रहेका थिए । जसमध्ये ६३ हजार दुई सय ९१ महिला, ६१ हजार चार सय तीन पुरुष र एक जना तेस्रो लिंगी रहेका छन् ।