भरतपुर, ११ वैशाख ।
चितवन-२ को मतगणना चलिरहेको छ । सुरुवातमा इच्छाकामना गाउँपालिका-१ र ५ को मतगणना भैरहेको छ । वडा नम्बर १ को ९७९ मतगणना गर्दा एमालेका रामप्रसाद न्यौपानेले ३६७ मत प्राप्त गरेका छन् । न्यौपानेलाई पछ्याउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले ३१९ मत ल्याएका छन् भने नेपाली कांग्रेसका जितनारायण श्रेष्ठलाई २४४ मत प्राप्त भएको छ ।
चितवन उद्योग संघ भरतपुरको हलमा मतगणना चलिरहेको छ । नतिजा सुन्न हलबाहिर बाक्लो संख्यामा सर्वसाधारण जम्मा भएका छन् । यहाँ आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना दिउँसो १ बजेपछि मात्रै सुरु भएको हो ।
चितवन–२ मा कांग्रेसका जितनारायण श्रेष्ठ, एमालेका रामप्रसाद न्यौपाने, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित २२ उम्मेदवार छन् ।
यस क्षेत्रमा ४३ स्थलका एक सय ३८ केन्द्रमा मतदान गरिएको हो । यसमा ७८ हजार दुई सय ७७ मतदाताले मतदान गरेको प्रारम्भिक तथ्यांक रहेको छ । यस क्षेत्रमा एक लाख २४ हजार छ सय ९५ जना मतदाता रहेका थिए । जसमध्ये ६३ हजार दुई सय ९१ महिला, ६१ हजार चार सय तीन पुरुष र एक जना तेस्रो लिंगी रहेका छन् ।