भरतपुर, १० वैशाख ।
प्रतिनिधिसभातर्फ रिक्त रहेका तीनवटा निर्वाचन क्षेत्रमा आज उपनिर्वाचन हुँदै छ । बिहान ७ बजेदेखि सुरु हुने मतदानका लागि चितवनमा बिहानैदेखि मतदाताहरू मतदान केन्द्रमा आएर लाइन बसेका छन् ।
चितवन निर्वाचन क्षेत्र नम्बर २, बारा निर्वाचन क्षेत्र नम्बर २ र तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा उपनिर्वाचन हुन लागेको हो । बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुने आयोगले जनाएको छ ।
तनहुँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले भयरहित र मर्यादित तरिकाले निर्वाचन सम्पन्न गराउन सुरक्षा प्रबन्ध मजबुत बनाइएको जानकारी दिए ।
निर्वाचनलाई भयरहित बनाउन मतदान केन्द्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको छ ।
पृथ्वीराजमार्गको तनहुँ–१ खण्ड तथा स्थानीय राजमार्ग पूर्णरूपमा बन्द हुने भएको छ ।
मुग्लिङ पुलबाट व्यास नगरपालिकाको चापाघाटसम्म, डुम्रे–बेँसीसहर सडकखण्ड, आँबुखैरेनी–गोरखा सडकखण्ड, दमौली–दुईपिप्ले सडकखण्डलगायत सम्पूर्ण स्थानीय सडकमा यातायात बन्द रहने प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिए ।
बारा–२ मा निर्वाचनलाई निष्पक्ष र मर्यादित बनाउन भन्दै नेपाल–भारत ६५ किमि सीमानाका, जिल्लाभर प्रवेश गर्ने र बाहिरिने सम्पूर्ण नाका, मुख्य सडक, पूर्वपश्चिम राजमार्ग, सहायक राजमार्ग, पथलैया–वीरगन्ज सडकलगायतमा सुरक्षाकर्मी तैनाथ गरिएको छ । पूर्व–पश्चिम राजमार्ग र पथलैया–वीरगन्ज राजमार्गमा द्रुतगति (लामो दूरी)का बाहेक अरू सवारीसाधन आइतबार बन्द गरिएको छ ।
चितवन–२ को मतगणना भरतपुर दूरसञ्चार रोडमा रहेको चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा गर्ने तयारी छ, त्यहाँ तारजालीको छेकबार र सीसीटीभी क्यामरा व्यवस्था गरिएको छ ।
गणना सुरु भएको तेस्रो दिनभित्रै अन्तिम नतिजा घोषणा गर्ने योजना रहेको निर्वाचन आयोगले जनाएको छ ।
दमकल, एम्बुलेन्स, खानेपानी ट्याङ्कर, दूध बोक्ने सवारीसाधन, शववाहन, फोहरमैला ओसार्ने सवारीसाधन, अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, अस्पतालको पत्रसहित चलेको सवारीसाधन र सूचना तथा प्रसारण विभागबाट जारी प्रेसपास भएको पत्रकार चढेको सवारी भने निर्वाध सञ्चालन हुनेछ ।