भरतपुर, ७ वैशाख ।
तनहुँ क्षेत्र नम्बर- १ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा स्वर्णीम वाग्लेले आफ्नो मन्त्रिमण्डल पूरा गर्न नसक्ने प्रधानमन्त्रीले मन्त्री बाँड्दै हिँडेको आरोप लगाएका छन् ।
बुधबार मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तनहुँ क्षेत्र नम्बर – १ का नेपाली कांग्रेस उम्मेदवार गोविन्द भट्टराईलाई निर्वाचन जिताएर पठाए आफूले मन्त्री बनाउने घोषणा गरेका थिए ।
प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई खण्डन गर्दै वाग्लेले चितवनमा भएको चुनावी सभालाई बिहीबार सम्बाधोन गर्दै उक्त कुरा बताएका हुन् ।
‘प्रधानमन्त्री तनहुँमा हेलिकोप्टर लिएर आउनुभएको छ । प्रधानमन्त्री मन्त्री पद बाँड्दै हिँड्नुभएको छ । स्वर्णीम वाग्लेलाई हराऊ म मन्त्री बनाउँछु भन्नुभएको छ,’ वाग्लेले भने,‘ अहिले भइरहेको मन्त्रिमण्डल पनि पूरा गर्न नसकेका व्यक्तिले मन्त्री बाँड्दै हिँडेर लोकतान्त्रिक अभ्यासको खिल्ली उडाउनु त्यति राम्रो हैन ।’
प्रधानमन्त्रीमा नियुक्त भएको करिब ४ महिना पुग्दा पनि प्रचण्डले मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । गठबन्धन दलहरूबीच मन्त्रालयको भागबन्डा मिल्न नसक्दा प्रधानमन्त्री प्रचण्ड अप्ठ्यारोमा परेका छन् ।