गैंडाकोट, ७ वैशाख ।
कलाकार भीमप्रसाद शर्माको एकल चित्रकला प्रदर्शनी हुने भएको छ । गैंडाकोट नगर प्रज्ञा प्रतिष्ठानको आयोजनामा किसान ग्यालरी गैंडाकोटमा वैशाख ८ गते शुक्रबार एघारौँ चित्रकला प्रदर्शनी हुन लागेको पत्रकार सम्मेलन मार्फत शर्माले जानकारी दिए । प्रदर्शनीमा कलाकार शर्माले बनाएका २७ वटा चित्रहरू प्रदर्शनीमा राखिने छन् ।
शर्माले यसअघि नवलपरासी, चितवन र काठमाडौँसँगै जर्मनी र क्यानडामा पनि एकल चित्रकला प्रदर्शनी गराएका छन् । जर्मनीमा तीन पटक र क्यानडामा १ पटक उनका चित्रकलाको प्रदर्शनी भएका छन् । भारत, बंगलादेश र अफगानिस्तानमा पनि शर्माले संयुक्त चित्रकला प्रदर्शनीमा सहभागिता जनाएका छन् ।
सोही कार्यक्रममा `साहित्य, कला, संगीत र संस्कृतिको विकास र संरक्षणमा स्थानीयदेखि केन्द्रीय स्तरका प्रज्ञा प्रतिष्ठानहरुको भूमिका र अन्तरसम्बन्ध´ तथा `साहित्य, कला, संगीत र संस्कृति बीच अन्तरसम्बन्ध´ शीर्षकमा अन्तरक्रिया हुँदैछ ।
त्यसैगरी अञ्जान प्रदीपको निर्देशन रहेको `स्वप्नवयन´ नाटक मञ्चन हुँदैछ । शर्माकै चित्रकलामा आधारित उक्त नाटकमा ७ जना कलाकारको अभिनय रहेको निर्देशक प्रदीपले जानकारी दिए । त्यसैगरी `इत्थंविध चित्र : इत्थंविध कविता´ चित्र कवितासङ्ग्रहको पनि विमोचन गर्न लागिएको छ । सङ्ग्रहमा गोविन्दराज विनोदी, सुमन पोखरेल, गीता त्रिपाठी, गोपी सापकोटा र सुदेश सत्यालका कविता छन् । सबै कवितामा चित्र कलाकार शर्माले बनाएका हुन् ।