भरतपुर, ६ वैशाख ।
नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले लोकतन्त्रको पक्षधरलाई विजयी गराउनु पर्ने बताएका छन् । वैशाख १० गते हुने उपनिर्वाचन केन्द्रित घरदैलो तथा कोणसभामा सहभागी हुँदै उनले संविधानको रक्षा र लोकतन्त्रका पक्षधरलाई निर्वाचनमा जिताउनु पर्ने बताएका हुन् ।
भरतपुर महानगरपालिका वडा नम्बर ७ र ५ का विकास चोक, वंशी चोक, समी चोक, आनन्दपुर चौतारी, सापकोटा चोक लगायतका स्थानमा गरिएको घरदैलो तथा चुनावी सभामा सम्बोधन गर्दै उनले देशको स्थिरताका लागि गठबन्धन आवश्यक रहेको बताए । संविधानको रक्षाका लागि उपनिर्वाचनमा लोकतान्त्रिक बाम गठबन्धनलाई मतदान गर्न आग्रह गरे । उनले वि. सं. २०६२÷०६३ सालको परिवर्तनपछि प्राप्त गरेको संविधानको रक्षाका लागि गठबन्धन बनेको जिकिर गरे ।
काँग्रेस नेता सिंह भने, “जनताको संघर्षबाट पाएको संविधान कार्यान्वयनका लागि जिम्मेवार दलहरुलाई अधिकार दिनुस् ।” देशमा राजनैतिक स्थिरताका लागि गठबन्धनमा मतदान गर्न उनको जोड थियो । ‘यो क्षेत्रमा किन चाँडै निर्वाचन भयो भन्ने तपाईहरुलाई थाहा नै छ’ उनले थपे, “अब फेरि निर्वाचन गर्न नपर्ने गरी स्थानीय नेतालाई मतदान गर्नुस् ।”
नेपाली काङ्ग्रेसका अर्का केन्द्रीय सदस्य रामहरि खतिवडाले संघीय सरकार गठबन्धनको सरकार भएको भन्दै यसको गतिका लागि पनि चितवनमा काङ्ग्रेसलाई जिताउनु पर्ने बताए । गठबन्धनको जितसँगै विकास निर्माणले समेत गति लिने उनको भनाइ थियो ।
घरदैलो कार्यक्रममा गठबन्धनका उम्मेदवार जितनारायण श्रेष्ठ, नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज घनश्याम दाहाल, नेकपा समाजवादीका प्रदेश अध्यक्ष सावित्रा भुषाल, वडा नम्बर ७ का अध्यक्ष राजेन्द्रमणि काफ्ले, नेपाली काङ्ग्रेस भरतपुर महानगरपालिका वडा नम्बर ७ का सभापति विनोद ढकाल, वडा नम्बर ५ का सभापति भीमनारायण पौडेल, काँग्रेस नेतृ देवकी गौतम, नेता इन्द्रमणि गैरे लगायतले बोलेका थिए ।