कालिका, ५ बैशाख ।
पूर्वी चितवनको कालिका नगरपालिकामा काँग्रेसको पक्षमा लहर बढेको छ । उपनिर्वाचनमा पार्टीका उम्मेदवार जिताउन काँग्रेसका कार्यकर्ता उत्साहित भएका छन् ।
कालिका नगरपालिका १ स्थित लङ्कालाइनमा काँग्रेसको लहर बढेको छ । घरदैलोको क्रममा काँग्रेसका उमेदवार जितनारायण श्रेष्ठलाई मतदाताले दही खुवाएर शुभकामना दिएका थिए । अघिल्लो निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीमा झुकाव राखेकाहरु समेत यसपालि काँग्रेसका उम्मेदवार जिताउन लागिपरेका छन् । अघिल्लो पटक निर्वाचित सांसदका कारण छोटो समयमा उपनिर्वाचन भएको भन्दै उनीहरुले आक्रोस पोखे ।
कालिका नगरपालिकामा अघिल्लो पटक माहोल खस्किएको थियो । यसपटक कार्यकर्ताहरु लयमा फर्किएको काँग्रेस नेता लिलाबहादुर गुरुङले बताए । ‘यसअघि बिग्रिएको माहोल अहिले धेरै सुधारिएको छ’ उनले भने, ‘यसपटक हामी नतिजा दिने गरी लागेका छौँ ।’
कालिका नगरपालिकामा उम्मेदवार श्रेष्ठले घरदैलो अभियान गरेका छन् । श्रेष्ठले मंगलबार बिहान लङ्कालाइन, गडुवा चोक, स्कुल रोड, सूर्यपुर क्षेत्रमा घरदैलो गरेका थिए । घरदैलोका क्रममा गरिएको स्वागतले उम्मेदवार श्रेष्ठ उत्साहित बनेका छन् । श्रेष्ठ सोही नगरपालिकाका बासिन्दा हुन् ।
गाँउको समस्या समाधानमा सधैँ सक्रिय रहेको र यसपटक काँग्रेसका कार्यकर्ताले जिताएर पठाउने श्रेष्ठले बताए । उनी शक्तिखोरका बासिन्दा हुन् । ‘निर्वाचनको समयमा मात्रै होइन सधैँ खटिएको छु । हार, जित जे भए पनि म सधैँ लागिरहने मान्छे हूँ’ उनले भने, ‘यहाँको जति माया बाहिरकालाई हुँदैन । त्यसैले यसपटक नतिजा हाम्रो पक्षमा हुने पक्का छ ।’