भरतपुर, ४ वैशाख ।
वैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार जितनारायण श्रेष्ठलाई विजयी गराउन नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा घरदैलो कार्यक्रममा सहभागी भएका छन् ।
गठबन्धनले सोमबार
अपराह्न भरतपुर महानगरपालिका वडा नम्बर ४ धर्मचोकमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै थापाले बाहिर रुखरुख भन्दै हिँड्ने र भित्रभित्र दायाँबायाँ गर्ने छुट कुनै पनि काँग्रेस कार्यकर्तालाई नभएको बताएका छन् ।
चुनावी सभालाई सम्बोधन गर्दै थापाले पार्टीमै रहेको व्यक्तिले चुनावको बेलामा पार्टीलाई धोका दिएमा पाप लाग्ने समेत बताए । उनले कांग्रेस एकजुट हुनुपर्ने बेला आएको सुनाए ।
चितवन २ को उपनिर्वाचनमा कांग्रेसका पूर्वजिल्ला सभापति जितनारायण श्रेष्ठ गठबन्धनको साझा उम्मेदवार छन् । श्रेष्ठकै पक्षमा भोट माग्न भरतपुर आएका थापाले आफू पनि भगवानमा विश्वास गर्ने मान्छे भएकोले कांग्रेस नेता कार्यकर्ताले पाप, धर्म सम्झेर मत दिनसमेत आग्रह गरे ।
उनले कांग्रेससँग असन्तुष्ट रहेका हिजोका बागी उम्मेदवार र तिनका सहयोगीको मत समेत यसपटक जितनारायणलाई जानेमा आफू विश्वस्त रहेको बताए ।
‘तपाईंसँग जे असन्तुष्टि छ, त्यो पछि छलफल गरौँला, अहिलेलाई रुखमा नै भोट दिनुहोस्’ थापाले आग्रह गरे ।
घरदैलोका क्रममा महामन्त्री थापाले जनताको सुझाव समेत संकलन गरेका थिए । उनलाई मतदाताले कांग्रेसभित्रको आन्तरिक समस्या समाधान गर्दै अघि बढ्नु पर्ने बताएका थिए । कांग्रेसभित्रको समस्याका कारण जनताले विकल्प खोज्नु परेको मतदाताको भनाइ थियो । उनीहरुले गठबन्धनलाई मतदान गर्ने बताउँदै कांग्रेसले जनताको समस्या समाधानका लागि भूमिका खेल्न आग्रह गरे ।
मतदाताको गुनासो सुनेपछि महामन्त्री थापाले जनताको समस्या समाधानका लागि कांग्रेस सधैँ जनताको साथमा रहेको बताए । कांग्रेसको नेतृत्वमा बनेको सरकारले जनताको पक्षमा काम गर्दै आएको बताउँदै उनले चितवनमा क्यान्सर अस्पताल निर्माण, पदमपुर स्थानान्तरण लगायतका कामहरु कांग्रेसकै नेतृत्वमा भएको बताए । जनताको हितमा काम गर्न अहिले पनि गठबन्धनले जित्नुपर्ने बताउँदै थापाले मतदातालाई बहकाउमा नलाग्न आग्रह गरे ।
महामन्त्री थापाले काँग्रेसका सदस्य भएर अन्य पार्टीलाई मतदान गर्ने छुट कसैलाई नभएको बताएका छन् । नेपाली काङ्ग्रेस कालिका नगर समितिले सोमबार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले काँग्रेसका सदस्यहरुले मात्रै नभएर गठबन्धनमा रहेका पार्टीहरुलाई समेत त्यो छुट नरहेको बताए ।
उनले भने, “काँग्रेस हूँ भन्ने र मतदान अन्यत्र गर्ने गर्दा आफैले आफैलाई एकपटक सोच्न जरुरी छ ।” महामन्त्री थापाले अहिले जनतामा देखिएको नैराश्यताको अन्त्य काँग्रेसले मात्रै गर्न सक्ने दाबी गरे । उनले भने, “दलहरुले कसैलाई घेराबन्दी गरेको भन्ने कुरा गलत हो ।”
चितवन दुईका मतदातालाई भावनाको व्यापारमा नबहकिन उनले आग्रह गरे । उनले थपे, “कसैले कसैलाई घेराबन्दी गरेको भन्ने गलत हो । यो भ्रममा कोही पनि नपर्नुहोला । लोकतन्त्रको आत्मा भनेकै कानुनको शासन हो । लोकतन्त्रमा न्याय नै सर्वमान्य हुन्छ ।”
नेपालको कानुनअनुसार दोहोरो नागरिकता र राहदानी लिन नपाइने बताउँदै महामन्त्री थापाले त्यो कुरा नहुँदा नै चितवन २ का जनप्रतिनिधिको पद खुस्किएको बताए । काङ्ग्रेस, माओवादी, एमाले लगायतका दलहरुले घेराबन्दीमा पारेर न्यायालयलाई प्रभावित बनाएर सांसद पद गएको भन्ने कुरा गलत भएको थापाले प्रष्ट पारे । उनले मतदातालाई तथ्यमा टेकेर निर्णय लिन पनि आग्रह गरे ।
नेपाली काङ्ग्रेसका उपसभापति धनराज गुरुङ्ले नयाँ जोगीलाई भिक्षा दिँदा ख्याल गर्न चितवनका जनतालाई आग्रह गरे । नेपाली काङ्ग्रेस चितवन क्षेत्र नम्बर २ ले विभिन्न स्थानमा गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले चितवन दुईमा निर्वाचन लड्न आएका स्वतन्त्र पार्टीका उमेदवार रवि लामिछानेलाई नयाँ जोगीको संज्ञा दिए ।
“चुनावी अभियानमा नयाँ जोगीले धेरै खरानी धसे । जोगीलाई भिक्षा दिँदा धयान पु¥याइएन भने कहिलेकाहीँ गलत पनि हुन सक्छ”, उनले भने । भिक्षा दिँदा गलत भएकैले रावणले सीता हरण गरेको धार्मिक प्रसंग पनि उनले सुनाए ।
फरक प्रसंगमा बोल्दै उनले पार्टीमा युवाहरुको हस्तक्षेप बढ्दै गएको बताए । उनले पार्टीभित्र युवा पुस्ताको हस्तक्षेप बढ्दै गएकाले नैराश्यता हुनुपर्ने अवस्था नरहेको बताए । उनले भने “काँग्रेसले आफ्नो कार्यकालमा गरेका विकास निर्माणका बारेमा जनतामा बुझाउन सकेन । यसका कारण पनि जनतामा केही गरेन भन्ने नैराश्यता पलायो ।”
मतदातासँग भेटेपछि कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले कन्यादान र मदतान गर्दा सोचविचार गर्नुपर्ने बताए । जनतामा जनप्रिय र सत्तामा जाँदा धनप्रिय बन्ने बानी काँग्रेसका उम्मेदवारमा नरहेको उनले बताए । उनले भने, “जनतालाई ढाँटेर राजनीति गर्नु छैन काँग्रेसलाई ।”
घरदैलोका क्रममा उम्मेदवार श्रेष्ठले मतदातासँग आफूले जनताको हितमा काम गर्ने बताए । भ्रष्टाचार रोक्न आफ्नो भूमिका महत्वपूर्ण रहने बताउँदै उनले जनताको हरेक सुखदुःखमा कांग्रेस र कांग्रेसका उम्मेदवार रहने प्रतिबद्धता जनाए । कार्यक्रममा नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, नेकपा माओवादी केन्द्रका ईश्वर सापकोटा सुमन लगायतले बोलेका थिए ।
नेकपा माओवादी केन्द्रकी पोलिटव्यूरो सदस्य एवं भरतपुर महानगरकी प्रमुख रेनु दाहालले गठबन्धन लामो समय बचाउन पनि काङ्ग्रेस उम्मेदवारलाई भोट दिनुपर्ने धारणा राखिन् । पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धनलाई चुनाव जिताउन निर्देशन दिएकै कारण पार्टीका जिल्ला तहका नेता कार्यकर्ता त्यही अनुसार परिचालन भएको उनको भनाइ थियो ।
गठबन्धनको तर्फबाट काँग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले मतदाताहरुले आफूलाई जिताए क्षेत्रकै विकासमा आफू लाग्ने प्रतिवद्धता ब्यक्त गरे । कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति राजेश्वर खनाल, कालिका नगर सभापति दिपेश्वर केसी लगायतले बोलेका थिए ।