गैँडाकोट, ४ चैत ।
गैँडाकोट नगरपालिका–२, शिलान्यासचोकमा रहेको होटल मुन स्टारको नाम परिवर्तन गरेर ताजमहल एभरेष्ट राखिएको छ । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी नयाँ व्यवस्थापनपछि मुन स्टारको नाम परिवर्तन गरेर ताजमहल एभरेष्ट राखिएको जानकारी दिइएको हो ।
ताजमहल एभरेष्ट प्रा.लि.का अध्यक्ष यमलाल सापकोटाले पाँच कठ्ठा जग्गासहित होटलमा अहिलेसम्म ११ करोड रुपैयाँ लगानी भइसकेको र थप २ करोड रुपैयाँ लगानी गर्ने तयारीमा आफूहरु जुटेको जानकारी दिए । उनले ग्राहकलाई होटलसम्म आउन र अन्यत्र जानका लागि सानाठूला गाडीका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई टिकटको काम समेत होटलबाट हुने बताए ।
‘हामीले जापानमा १३ वटा चेन रेष्टुरेन्ट संचालनमा ल्याएका छौँ’ अध्यक्ष सापकोटाले भने, ‘जापानकै कम्पनीसँग टाइअप गरेर नेपालमा पहिलोपटक होटल संचालनमा ल्याएका हौँ ।’ उनले स्वच्छ तथा पारिवारिक वातावरणमा तन्दुरी, चाइनिज, कन्टिनेन्टल र टिपिकल नेपाली खानाको स्वाद लिन सकिने बताए ।
होटल ताजमहल एभरेष्टमा एट्याच बाथरुमसहितका एसी र डिलक्स गरी २२ वटा कोठा रहेका छन् । अझै विशिष्टकृत सेवा दिनको लागि तारेहोटल सरहका १८ वटा कोठा थप गर्ने तयारीमा आफूहरु रहेको अध्यक्ष सापकोटाले बताए । होटलमा विभिन्न पार्टी, सभा र सम्मेलनका लागि एक हजार जना अट्ने एसीसहितको हल र पर्याप्त पार्किङ क्षेत्र रहेको छ ।